पारवहन सन्धि बिपरित नेपाली मालबाहक सवारीलाई जोगबनी बजारको रुट प्रयोगमा रोक

पारवहन सन्धि बिपरित नेपाली मालबाहक सवारीलाई जोगबनी बजारको रुट प्रयोगमा रोक


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १६ असार २०७६
  • 8.2K
    Shares

नेपाल–भारतबीच भएको द्विपक्षीय पारवहन तथा मैत्री सन्धि बिपरित भारतीय पक्षले बिना सूचना नेपाली  मालवाहक सवारीलाई जोगबनी बजारको रुट प्रयोगमा रोक लगाएको छ । फारबीसगञ्जको नगरस्तरीय प्रशासन कार्यालयले चार दिनदेखि नेपालले प्रयोग गर्दै आएको जोगबनी बजारको रुटबाट मालबाहक सवारी जान रोक लगाएको हो । भारतीय अवरोधका कारण नेपाली मालवहाक सवारी साधन जोगबनी रेल्वे स्टेशनसम्म औद्योगिक कच्चा पदार्थ लिन  जान पाएका छैनन् ।

दुई देशको पारवहन सन्धीमा कोलकत्ताबाट विराटनगर नाकाका लागि जोगबनी बजारको रुट प्रयोग गर्ने र नेपालले प्रयोग गर्ने पारवहन सुविधाको रुटमा केन्द्र सरकार र स्थानीय सरकारले अबरुद्ध गर्न नपाउने उल्लेख छ । तर, कार्यालय अनुमण्डल पदाधिकारी, फारबिसगञ्जका नाममा २२ मेमा सार्वजनिक गरिएको परिपत्रमा नेपालबाट भारततर्फ जाने खाली गाडी आईसीपी भएर मात्र फर्कनु पर्ने, जोगबनी बजार हुँदै गए कारबाही गर्ने उल्लेख छ ।

यसले सयौं गाडी र खाली कन्टेनर बोकेका ट्रेलरहरू नेपालतर्फ अलपत्र परेका छन् ।

भारतको स्थानीय प्रशासनले जोगबनीको रेल्वे यार्डमा नेपालका लागि आएका सामान ओसार्न खाली ट्रक पनि जान दिएको छैन । यसका कारण चार दिनदेखि नेपालका लागि आएका फलामे कच्चा पदार्थ यार्डमा अलपत्र परेका छन् । मुख्यतः गोल्छा अर्गनाइजेशन, आरती स्ट्रिप लगायतका ठुला उद्योगहरुको कच्चा पदार्थ जोगबनी रेल्वे यार्डमा रोकिएका छन् ।

रेल्वे यार्डमा आएको औद्योगिक कच्चा पदार्थ अनलोड भएको १२ घण्टाभित्र क्लियर गरिसक्नुपर्ने प्रावधान छ । तोकिएको समयमा क्लियर नभएको खण्डमा प्रतिघण्टा एक वागेनको १ सय ५० भारु तिर्नुपर्छ । चार दिन यतामात्र धेरै औद्योगिक कच्चा पदार्थ रेल्वे यार्डमा रोकिएकाले नेपाली उद्योगी व्यावसायीहरुले थप व्यायभार बेहोर्नु परेको छ ।

भारतीय प्रशासनले निर्माणधीन आईसीपीको बाटो भएर खाली ट्रक र लहरी लैजान भनेको छ । तर जोगबनी रुटमा दैनिक ३ सय ट्रक र लहरी आउने जाने गरेकोमा आईसीपीबाट दैनिक बढीमा ६० बटा मात्र आउन सक्छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केशीले भने जोगबनी रुट बन्द गरिएको आधिकारिक जानकारी नभएको बताए । विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मिंमास अधिकारीले भने शुक्रबारदेखि नेपालले प्रयोग गदै आएको जोगबनीको रुटमा खाली सावारी साधान लैजान भारतीय प्रशासनले रोक लगाएको बताए । यो विषय मौखिक रुपमा मोरङ प्रशासनलाई दिइएको उनले बताए ।

प्रतिक्रिया