विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जनक ब्युरोले स्सर्लाही जिल्लाको बाँके खोलामा संचालित सम्पूर्ण क्रसर उद्योग तत्काल बन्द गर्न निर्देशन दिएको छ । ने.क.पा. जनक ब्युरो इन्चार्ज अरुणले आज एक प्रेस बिज्ञप्ति प्रकाशित गर्दै यस्तो निर्देशन दिएका हुन्
बाँके खोलाको दुवै तर्फ ठेकदारहरुले प्रशासनसँग मिली सञ्चालित अबैध क्रसर उद्योगले ब्यापक मात्रामा प्राकृतिक दोहन र जथाभावी उत्खनन् गर्ने गरेकै कारण त्यहाँ बन्न गएको खाल्डोमा परी १२ बर्षीय बालक अमितकुमार यादवको मृत्यु भएको भएको ठहर गर्दै बिज्ञप्तिमा बाँके खोलामा स्थानीय प्रशासन र केही जनप्रतिनिधिहरुलाई मोटो रकम खुवाई अत्याधिक प्राकृतिक दोहन गर्ने सम्पूर्ण क्रसर उद्योग तत्काल बन्द नगरिए त्यससँग सम्बन्धित सबै पक्षको उचित भण्डाफोर र आवश्यक कार्वाही गर्न आम जनसमुदायका साथमा आफ्नो पार्टीले पहल कदमी अगाडि बढाउने जनाइएको छ ।
त्यही विज्ञप्तिमार्फत क्रसर उद्योगका ठेकेदार, घुसिया जनप्रतिनिधि र प्रशासनका विरुद्ध आम जनसमुदायलाई अझ बढि भण्डाफोर गर्न र आवश्यक आन्दोलन गर्न पनि अपिल गरिएको छ ।
सर्लाही र महोत्तरीको सिमानामा रहेको बाँके खोलामा विगत २ दिनदेखि भएको घटनाले आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको दाबी गर्दै सो बिज्ञप्तिमार्फत प्राकृतिक सम्पत्तिको दोहनका कारण बाँके खोलामा परेको खाल्डोमा परी १२ बर्षीय अमितकुमार यादवको मृत्यु भएको र त्यसको विरोधमा आन्दोलित सर्वसाधारण जनसमुदायमाथि स्वेच्छाचारी र क्रुरतापुर्बक गोली प्रहार गरिएको घटनाप्रति घोर विरोध तथा भर्त्सना गरिएको छ । साथै सरकारी पक्षबाट भएको दमनका क्रममा मारिएका मृतक परिवारलाई उचित क्षतिपूर्ती, घाइतेको शीघ्र उपचार र हत्यारालाई तत्काल कार्वाहीको जोडदार माग पनि बिज्ञप्तिमा गरिएको छ ।
पुलिस प्रशासनको ज्यादती विरुद्ध स्थनीय जनताले गरेको प्रतिरोधप्रति पार्टीको पूर्ण ऐक्यवद्धता र उच्च सम्मान रहेको कुरा उल्लेख गर्दै सोही विज्ञप्तिमार्फत त्यसलाई निहुँ बनाई आफ्ना पार्टीका कार्यकर्तालाई फसाउँन राज्यले गरेको षड्यन्त्रको घोर निन्दा तथा भर्त्सना गरिएको छ । जनताले स्वतस्फूर्त गरेको त्यो आन्दोलनको निहुँमा हाम्रो पार्टीका कार्यकर्तालाई फसाउने कोसिस गरिएमा पार्टीले त्यसको सशक्त प्रतिरोध गर्ने पनि विज्छञप्तिमार्फत नै चेतावनी दिइएको छ ।