विराटनगरमा ‘डन’को रुपमा परिचित जग्गा कारोवारदेखि मिटर ब्याजको धन्दा चलाइरहेका किरण लामाले चलाएको कारले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ।
विराटनगर महानगरपालिका ४ बरगाछीमा शनिबार राति लामाले हाँकेको बा२०च ७४० नम्बरको कारले मोटरसाइकललाई ठक्कर दिँदा विराटनगर महानगरपालिका–१२ का १९ वर्षीय शंकरकुमार मिश्रको मृत्यु भएको हो । मिश्र को३५प ५६३४ नम्बरको सवार थिए ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार, ठक्करबाट गम्भीर घाइते भएका शंकरलाई उपचारका लागि विराट नर्सिङहोम भर्ना गरिएको थियो । तर, अस्पतालले राति नै मृत घोषणा गरेको थियो ।
कार चालक लामा फरार छन् भने उनको कारलाई प्रहरीले विराटनगर–११ स्थित उनकै घरबाट करिब २ बजे नियन्त्रणमा लिएको थियो। कार चालक समेत रहेका डन लामा यसअघि होटलका व्यवसायिक साझेदार प्रहृलाद गुरागाईंलाई बन्धक बनाएर कुटपिट गरेको आरोपमा पक्राउ परेका थिए ।