क्षतिपुर्ति माग गरेका स्थानीय बासिन्दा माथि प्रहरीले गोली बर्सायो, एकको मृत्यु, अर्का घाइते

क्षतिपुर्ति माग गरेका स्थानीय बासिन्दा माथि प्रहरीले गोली बर्सायो, एकको मृत्यु, अर्का घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १५ असार २०७६
  • 9.6K
    Shares

कुटपिट

खोलामा बालुवा झिकेको खाल्डोमा डुबेर बालकको मृत्यु भएपछि विरोध प्रदर्शनमा उत्रिएका स्थानीय बासिन्दामाथि प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

प्रहरीको गोली लागेर सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिकाका-१३ का २७ वर्षिय सत्यनारायण महतोको मृत्यु भएको छ भने अर्का एक जनाको तिघ्रामा गोली लागेको छ ।

शनिबार ईश्वरपुर नगरपालिका वडा नम्बर १३ बस्ने लाले रायका १२ वर्षीय छोरा अमितकुमार यादवको खाल्डोमा डुवेर मृत्यु भएको थियो । उनको मृत शरिर आइतबार मात्र फेला परेको थियो ।

बाँके नदीमा अवैध ढुंगागिट्टी उत्खनन् गर्दा बनेको खाल्टोमा शनिवार डुबेर बालक अमितकुमार यादवको ज्यान गएपछि स्थानीयले त्यसको विरोधमा  बालकको शवसहित राजमार्ग अवरुद्ध गरेर आइतबार प्रदर्शन गरेका थिए । उनीहरुले खाल्डोमा डुबेर मृत्यु भएका बालकको परिवारलाई उचित क्षतिपुर्ति माग गरेका थिए । तर प्रहरीले स्थानीयले राजमार्ग अबरुद्ध गरेको भन्दै हस्तक्षेप गरेको थियो ।

सर्लाहीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराइका अनुसार,  प्रदर्शनकारीले प्रहरीलाई लक्षित गरेर ढुंगामुढा गरेपछि सुरुमा लाठी चार्ज, १५ राउन्ड अश्रु ग्यास र रबरको बुलेट प्रहार गरेको थियो । राजमार्गमा प्रदर्शनकारीको भिड अनियन्त्रित बनेपछि गोली प्रहार गर्नु परेको सर्लाहीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराइले बताए ।

मृतकको शव सर्लाही अस्पताल मलंगवामा छ। प्रदर्शनकारीले शनिबार मृत्यु भएका बालकको शव नै लिएर प्रदर्शन गरिरहेका थिए। अहिले प्रहरीले ती बालकको शव पनि अस्पतालमै ल्याएको छ।

एसपी भट्टराईका अनुसार प्रदर्शनकारीको आक्रमणबाट १० भन्दा धेरै प्रहरी र केही सशस्त्र प्रहरी घाइते भएका छन् ।

प्रतिक्रिया