भद्रकाली मन्दिरमा युवतीलाई यातना दिएको आरोपमा धर्ती माता पक्राउ

भद्रकाली मन्दिरमा युवतीलाई यातना दिएको आरोपमा धर्ती माता पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १३ असार २०७६
  • 5.3K
    Shares

धर्ती माता

सर्वसाधारणको भिडका बीच नेपाली सेनाको मुख्यालय नजिकै भद्रकाली मन्दिरमा युवतीलाई यातना दिएको आरोपमा काठमाण्डौ प्रहरीले आफुलाई धर्ती माता बताउने  बुटवलकी विष्णु कुँवरलाई पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी परिसर, टेकुको विशेष टोलीले उनलाई शुक्रबार बिहान बालाजुबाट पक्राउ गरेको हो । अहिले उनलाई काठमाडौं प्रहरीको हिरासतमा राखिएको छ ।

एक साताअघि उनले सर्वसाधारणको भिडका बीच युवतीलाई यातना दिएकी थिइन् । जसको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । भिडियोमा कुँवरले युवतीलाई पिट्दै ‘तँ को होस्, छिटो निस्की’ भनेर गाली गरेकी छन् । उनले ‘तेरो मासु खाम्ला, मलाई चिन्’, जस्ता शब्दको पनि प्रयोग गरेकी थिइन् । भिडियोमा दुई प्रहरी अधिकृत पनि देखिएका थिए ।

घटनालाई लिएर सर्वसाधारणले प्रहरी प्रशासनको आलोचना गरेपछि अनुसन्धान सुरु भएको थियो । प्रहरीले हालसम्म पीडितलाई भने भेटेको छैन । यद्यपि, पीडितलाई उजुरी दिन आग्रह गरिएको छ ।

अघिल्लो वर्ष १ भदौदेखि लागू भएको मुलुकी अपराध संहिताले बोक्सीको आरोपमा अपमानजन्य व्यवहार गर्नेलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र क्षतिपूर्तिको व्यवस्था गरेको छ ।

कसुर गर्ने व्यक्तिबाट पीडित व्यक्तिलाई पुगेको क्षति वा पीडाबापत मानसिब क्षतिपूर्ति भराइदिनुपर्ने व्यवस्था पनि गरिएको छ ।

 

प्रतिक्रिया