श्रृंखलावद्ध सिरिन्ज आक्रमणमा संलग्नको आशंकामा कार्की पक्राउ

श्रृंखलावद्ध सिरिन्ज आक्रमणमा संलग्नको आशंकामा कार्की पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १३ असार २०७६
  • 5.5K
    Shares

santosh karki

काठमाडौं उपत्यकामा भएको श्रृंखलावद्ध सिरिन्ज आक्रमणमा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको काठमाडौं परिसरले पक्राउ गरेका यूवक काठमाण्डौको नैकाप निवासी  ३० वर्षीय सन्तोष कार्की छन् । काठमाडौं प्रहरी प्रमुख उत्तम सुवेदीले सिरिन्ज आक्रमणमा संलग्नको आशंकामा १ जनालाई नियन्त्रणमा लिएको पुष्टि गरे ।

सिरिन्ज आक्रमणमा संलग्न रहेको आरोपमा पक्राउ परेका कार्कीले काठमाण्डौको ढल्कु र पकनाजोल क्षेत्रको घटनामा आफ्नो संलग्नता पनि स्वीकार गरेका छन् ।

उनले सिरिन्ज नभई सुरमा काठको सुइरो र पछि ढलान किलोले घोचेको बयान दिएका छन् । तर आक्रमण गर्नुको कारण भने ‘रमाइलो’का लागि भनेका छन् । उनको बयानलाई प्रहरी विश्वास गरिसकेको छैन र अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार उनी महाराजगञ्जमा होटल व्यवसाय गर्थे । राति १० बजे होटल बन्द गरेर मोटरसाइकलमा सोह्रखुट्टे, टंकेश्वर हुँदै नैकापस्थित कोठामा जान्थे ।

घर जाने क्रममा बाटोमा एक्लै भेटिएका महिलाहरुलाई आक्रमण गर्थे । घटनामा प्रयोग भएको बा ४७ प १३३१ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख (एसएसपी) सहकुल थापा भन्छन्, ‘उनले सुरुमा काठ र पछि काँटीले घोपेको हुँ भनेका छन् । यसबारे हामी थप अनुसन्धान गर्दैछौं ।’

काठमाडौं र भक्तपुरमा केही दिनअघि श्रृंखलावद्ध सिरिन्ज आक्रमण भएको थियो । बनेपामा पनि यस्तै प्रकृतिको घटना भएको छ । महिलामाथि श्रृखलावद्ध शंकास्पद सिरिञ्ज आक्रमण भएपछि आतंक मच्चिएको थियो । रोग सार्ने नियतले आक्रमण गरेको हुनसक्ने आशंकामा पीडित महिलाहरुलाई एचआईभीविरुद्धको एआरटी औषधी चलाइएको थियो  भने हेपाटइटिसविरुद्ध भ्याक्सिन पनि दिइएको छ ।

 

 

प्रतिक्रिया