आस्थाका आधारमा गिरफ्तार गरिएका १५ बर्षिय बालक पुस्कर सुनारलाई प्रहरीले सिलिन्डर बम विस्फोटको मुद्दा लगाएको छ । सल्यान जिल्लाको कुमाख गाउपालिका वडा नम्बर ६ स्थित जनकल्याण आधारभूत विद्यालय, कोट बडागाउँ को कक्षा ९ मा अध्ययनरत बालक सुनारलाई बुधबार बिहान बडागाउँस्थित आफ्नो घरबाटै प्रहरीले पक्राउ गरेको थियो । बालक पुस्करलाई असार १० गते नेपाल बन्दको अघिल्लो रात बडागाउँको जंगलमा सिलिन्डर बम पड्काएको आरोप प्रहरीले लगाएको छ ।
विप्लव नेतृत्वको ने.क.पा. निकट विद्यार्थी संगठनमा आस्था राख्ने उनलाई जिल्ला अदालत सल्यानबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी प्रहरी निरिक्षक पंचलाल गोलेले जानकारी दिए । बालबालिकालाई हिरासतमा राख्न नपाउने नियम भएकाले उनलाई अहिले प्रहरीको निगरानीमै हिरासतमा राखिएको प्रनि गोलेले बताए ।
यता बालकका बुबा बीर बहादुर सुनारले कुनै विद्यार्थी संगठनमा आस्था राख्दैमा आफ्नो छोरालाई बिहानै एक्कासी प्रहरीले गुण्डागर्दी शैलीमा गिरफ्तार गरेको बताए । उनले भने’ “कुनै विद्यार्थी संगठनमा आस्ता राख्दैमा सरकारले पंच्यायत शासन जस्तै लाद्न खोज्यो, प्रहरीले झुटा मुद्दा लगायो ।” प्रहरीले गैरकानुनी ढंगले पक्राउ गरेर राखेको भन्दै उनले सम्पुर्ण मानवअधिकारकर्मीलाई आवाज उठाउन आग्रह गरे ।