रौतहटमा गाडी दुर्घटना भएर दुई थुनुवाको मृत्यु भएको विरोधमा स्थानीयले प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।
प्रहरीको लापरबाहीले थुनुवाको मृत्यु भएको भन्दै स्थानीय वासिन्दाले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुर अगाडि प्रदर्शन गरेका हुन् ।
मंगलबार चन्द्रपुर सडकखण्डको बालचनपुर नजिक भएको प्रहरी भ्यान दुर्घटनामा थुनुवाहरु चन्द्रपुरका २० वर्षका निर्मल साह र सुनसरी इनर्वा १ का रमेश कुमार चौधरीको मृत्यु भएको थियो ।
लागुऔषध मुद्दाका आरोपी साह र सवारी ज्यान मुद्दाका चौधरीलाई म्याद थपका लागि जिल्ला अदालत लैजाने क्रममा उनीहरु चढेको गाडी दुर्घटना भएको थियो । नम्वर प्लेट नभएको भ्यानको अगाडिको पाङग्रा पम्चर भई क्राउन र एक्सल भाँचिदा दुर्घटना भएको थियो । तर गाडी तीव्र गतिमा रहेको कारण दुर्घटना भएको स्थानीयबासी बताउँछन् ।
जिल्ला वन कार्यालयले वन मुद्दामा वरामद गरेको भारतीय गाडी प्रहरीले प्रयोग गर्दै आएको थियो । उक्त गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा प्रहरी पनि घाइते भएका थिए । प्रहरी भ्यान चलाएका प्रहरी सहायक निरीक्षक दिपेश चौलागाई, प्रहरी हवलदारद्धय उमेश यादव र विनोद मण्डल तथा जवान संजिव कार्की तथा अभद्र व्यवहार मुद्दामा आरोपित थुनुवा कुमार गेलाल र टेकबहादुर तामाँग सामान्य घाइते भएका छन् ।