भारत सरकारले निर्माण गरेको लक्ष्मणपुर बाँध र बाँध जस्तै अग्लो संरचनाको सडकका कारण १३ दिन ढिलोसुरू भएको मनसुनले बाँकेका विभिन्न क्षेत्र डुबानमा परेका छन्। वर्षाले बाँकेको नरैनापुरका चार वडाका साथै नेपालगन्ज उपमहानगरपालिकाका केही क्षेत्र डुबानमा परेका हुन् ।
भारत सरकारले निर्माण गरेको लक्ष्मणपुर बाँध र बाँध जस्तै अग्लो संरचनाको सडकका कारण पानीको निकास नभएपछि नरैनापुर गाउँपालिकाका १ को बनियाँगाउँ, २ को रोशनपुर, ३ को बालापुर र ४ को घोडदौडिया क्षेत्रका केही घर डुबानमा परेको गाउँपालिकाका प्रमुख प्रशासनकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए। कुनै मानवीय क्षति नभए पनि घरभित्र पानी पसेकाले क्षतिको एकीन विवरण नआइसकेको उनले बताए।

आइतबार ११ घण्टा परेको एक सय ६० मिलिलिटर वर्षाका कारण नेपालगन्जको सेतु बिक चोक, बेलासपुर लगायतका क्षेत्रमा पानी जमेको बाँके प्रहरी प्रमुख एसपी अरुण पौडेलले बताए।
नेपालमा १० जुनदेखि मनसुन सुरु हुन्छ। २० जुन अर्थात् ५ असारमा नेपालको पूर्वी भेगबाट मनसुन सुरू भएको थियो। मौसमविद्ले देशभर मनसुन सुरू हुन अझै एक साता लाग्ने भनिरहँदा बाँकेमा चाँडै मनसुन सक्रिय भएको हावापानी कार्यालयले जनाएको छ।
