प्रचार प्रसार अभावले पर्यटकीय क्षेत्र बागलुङको “हाँडिकोट” ओझेलमा ,लोकप्रिय गन्तव्यस्थल बन्न सक्ने ! !

प्रचार प्रसार अभावले पर्यटकीय क्षेत्र बागलुङको “हाँडिकोट” ओझेलमा ,लोकप्रिय गन्तव्यस्थल बन्न सक्ने ! !


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ८ असार २०७६
  • 10.5K
    Shares

‘हाँडिकोट’ जैमिनीबासीको लागि परिचित नाम हो । भन्ने हो भने समग्र बागलुङको लागि पर्यटकीय स्थलको रुपमा स्थापित गर्न सकिन्छ । बागलुङ जिल्लाको दक्षिण जैमिनी नगरपालिका वडा न–१० राङखानीमा पर्ने ‘हाँडिकोट’ समुद्री सतहदेखि २३ सय ३ मिटर उचाईमा रहेको छ । पर्यटकीय क्षेत्रको रुपमा अत्यन्त सम्भावनायुक्त ठाउँ भएपनि पूर्वाधार निर्माण अभावका कारण खासै चर्चामा आउन सकेको छैन । उचित प्रचारप्रसार तथा प्रवद्र्धन हुन सकेको छैन ।
प्रचार प्रसार गर्न सके यो आन्तरीक तथा बाह्य पर्यटकको लोकप्रिय गन्तव्यस्थल बन्न सक्छ ।जडिबुटीको प्रचुर सम्भावना र प्राकृतिक सौन्दर्यका पारखीहरुका लागि त यो एउटा दिव्य अनुभव नै हुन्छ । धेरै विद्यालयबाट विद्यार्थीहरु यस ठाउँमा शैक्षिक भ्रमणमा आउने क्रम बढेर गएको छ ।

हाँडिकोट आफैमा मनमोहक ठाउँ हो, यसबाट खास गरि आकर्षक सूर्योदय देख्न सकिन्छ । सुन्दर हिमश्रृखलाको दृश्यले जो कोहीको मन लोभ्याउन सक्छ । हाँडिकोटबाट अन्नपूर्ण, माछा पुच्छ«े, नीलगिरी, धौलागिरी लगायतका सुन्दर हिमश्रंखलाहरु देख्न सकिन्छ ।

त्यति मात्र नभई हाँडिकोटबाट पाल्पा, गुल्मी, बागलुङ, पर्वत, म्याग्दी, स्याङ्जा, काँस्की जिल्लाका विभिन्न स्थान समेत देखिन्छ , जसले गर्दा हाँडिकोट पुग्ने जोकोहीलाई आकर्षित गर्न सक्छ ।

९० हेक्टर जमिनमा फैलिएको हाँडिकोट जडिबुटिको लागि समेत अत्यन्त सम्भावनायुक्त ठाउँ हो । त्यहाँ सतुवा, विष्मा, भुत्केस, रक्तमुल, रक्तताल, पखण्डित, पहेँले लगायत दर्जनौँ प्रकारका जडिबुटी पाईन्छ, तर त्यसलाई व्यवस्थित गर्न नसक्दा महङ्गो मुल्यका जडिबुटीहरु चोरी निकासी हुने गरेको स्थानीय बताउँछन् ।

चोरी निकासीकै कारण सत्तुवा लगायतका महत्वपूर्ण जडिबुटिहरु पछिल्लो समयमा लोप हुन पुगेको स्थानीयहरुको भनाई छ ।
चितुवा, मृग, कालिज, भालु, दुम्सी, फ्याउरो, बाँदर स्याल लगायतका जङ्गली जनावरहरु पाईने भएकाले पर्यटकलाई थप आकर्षित गर्न सक्छन् ।

हाँडिकोटलाई पर्यटकीय क्षेत्र निर्माणको लागि जैमिनी नगरपालिकाले केही चासो देखाएको छ, तर बजेटको अवस्थालाई हेर्ने हो भने अवस्था अत्यन्त दयनीय छ ।

खास गरि ब्याडथलादेखि हाँडिकोट शिरसम्म पुग्नको लागि पैदल मार्ग (दुई घण्टा लाग्छ)को परिकल्पना गरिएको छ, तर तीन वर्षको अवधिमा बनेको पैदल मार्गको अवस्थालाई हेर्ने हो भने जम्मा ४४ वटा खुड्किला मात्र निर्माण गरिएको छ ।

त्यसको लागि दुई आर्थिक वर्षमा गरि ४ लाख रुपैयाँ सकिएको छ त्यो बजेटको अवस्था र काम गर्ने शैलिले पदमार्गलाई हाँडिकोटसम्म पुग्नको लागि दशकनै लाग्नसक्ने आशंका छ स्थानीयमा । पदमार्ग निर्माणको कामलाई कसैले चासो देखएको देखिदैन । बाग्लुंग कुस्मिसेरा देखि करिब ४ घण्टा लाग्ने उक्त स्थानमा पर्यटकका लागि उचित पदमार्ग निर्माण गर्न सकियो भने पक्कै हाँडिकोटले कोल्टे फेर्ने छ ।

नगरपालिका तथा वडाको योजना के छ ?
वडा अध्यक्ष नरबहादुर थापाका अनुसार खासमा वडाले हाँडिकोटको लागि केही पनि योजना बनाएको छैन । दुई वर्ष अघि २ लाख रुपैयाँ वडाले विनियोजन गर्यो, त्यसपछि भने नगरपालिकाले विनियोजन गर्न थालेपछि वडाले बजेट विनियोजन गर्न छाडेको थापाले बताए ।

नगरपालिकाले चालु आर्थिक वर्षमा पाँच लाख रुपैयाँ बिनियोजन गर्यो त्यसले हाँडिकोटको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको बताईएको छ । पूर्वाधार निर्माण अभावकै कारण हाँडिकोट चर्चामा आउन सकेको छैन । जिल्लाकै प्रमुख ऐतिहासिक ठाउँ भएर पनि कुनै पनि निकायले संरक्षणका लागि चासो नदेखाएकामा स्थानीय बासिन्दा चिन्तित बनेका छन् ।

यसो भन्छन् नगर प्रमुख पौडेल
नगर प्रमुख र्ईन्द्रराज पौडेलले हाँडिकोट बारे धेरै क्षेत्रबाट चासो व्यक्त गरिएको बताए । पर्यटकीय क्षेत्रको राम्रो सम्भावना बोकेको हाँडिकोटलाई आफुहरुले प्रथामिकतामा राखेर काम गर्न खोजेको उनको भनाई छ ।

हाँडिकोटमा पोखरी, मन्दिर छ त्यसको संरक्षण गर्ने सोच पनि बनाएका छौँ प्रमुख पौडेलले भने–‘भ्यू टावर निर्माण, पार्क निर्माणदेखि श्रोतले भ्याएसम्मको काम गर्ने हो ।’

यसो गरे कसो होला ?
हाँडिकोट आफैमा सुन्दर र रमणीय स्थान हो । राम्रो प्रचार प्रसार हुन सक्यो भने केही वर्षमानै पर्यटकहरुको आकर्षणको केन्द्र बिन्दु बन्नसक्छ । त्यहाँबाट देखिने सूर्यादय, आधा दर्जन हिमश्रृखला, जगली जनावहर हेर्न पर्यटकहरु अवश्य पुग्नेछन् ।

त्यसबाहेक पूर्वाधार समयमा नै निर्माण गर्नु पर्ने आवश्यकता देखिन्छ । तर पदमार्ग निर्माण गर्दा त्यहीँको सेलेट ढुङ्गा, काठको प्रयोग गर्न सके स्थानीय श्रोतको प्रयोगले स्थानीयको आयमा वृद्धि गराउनेछ ।

भ्यू टावरको विकल्पमा त्यहाँको संस्कृति झल्किने, विगतमा तामा खानीमा काम गर्ने मज्दुरहरुको कष्ठकर जीवन झल्किने गरि काठको संग्राहलय निर्माण गर्न सके त्यो पर्यटकको लागि थप आकर्षणको केन्द्र बन्न सक्छ ।
साथै, त्यही हाँडिकोटमा केही वर्ष पहिले हेलिकप्टर दुर्घटना पनि भएको थियो त्यसलाई पनि संग्राहलयको रुपमा विकास गर्ने योजना बनाए कसो होला ?
पदमार्ग निर्माण , पर्यटकलाइ बिसेस सुबिधा , होमस्टे निर्माण गर्ने हो भने प्रचुर सम्भावना रहेको छ ।

माइकोस्थान मन्दिर
साथै हाँडिकोट बाट नजिकै रहेको प्रसिद्ध माइकोस्थान मन्दिर बाग्लुङ्ग र जैमिनी नगरपालिकाको पर्यटकीय र धार्मिक स्थलले पनि महोत्वपूर्ण स्थान मानिएको छ l विभिन्न संघ-सस्था , स्थानीय , मन्दिर ब्यबस्थापन समिति , वडा , नगरपालिकाले निकै चासो देखाएपनि प्रचार-प्रसारको अभाबमा ओझेल परेको छ । बाग्लुङ्ग कुस्मिसेरा र जैदी हुदै पदमार्ग निर्माण गर्न सकियो भने महोत्वपूर्ण स्थान
को रुपमा विकास गर्न सकिन्छ ।

प्राकृतिक सुन्दरता मात्रै यहाँको परिचय होइन । रोचक प्राचीन इतिहास पनि यो ठाउँसँग जोडिएको छ ।प्राचीन ढुङ्गा मा २२/२४ राज्यमा रानीले बसेर कपाल कोर्ने र उक्त ढुङ्गाको उचित ब्यबस्थापन र संरक्षणका लागि कतैबाट पहल भएको छैन । प्राचीन इतिहासको राज्य- र त्यसको पुरातात्विक वस्तुहरुको प्रबर्दन र संरक्षण गर्न सबैले पहल गर्नु पर्ने देखिन्छ ।

प्रतिक्रिया