प्रहरीले आफ्नो पार्टीका सर्लाही जिल्ला इन्चार्ज तथा जनकपुर ब्युरो सदस्य कुमार पौडेलको गोली हानि हत्या गरेपछि आक्रोशित बनेका ने.क.पा.का महासचिव बिप्लवले यस आततायी हत्याको “क्रान्तिको प्रक्रियामा बदला लिने” प्रतिबद्धता व्यक्त गरेका छन् । महासचिव विप्लवले आज एक प्रेस वक्तव्य जारी गर्दै यस्तो व्यक्त गरेका हुन् ।
उनले आफ्नो प्रेस वक्तव्यमार्फत पार्टी कार्यकर्तालाई सक्रिय रक्षामा रहन पनि निर्देशन दिंदै वार्ताको प्रचार गरेर राजनीतिक कार्यकर्ताहरूको हत्या गर्ने फासिवादी वली सरकारको षड्यन्त्रविरुद्ध दृढ भएर लाग्न सबै पक्षसंग आह्वान पनि गरेका छन् । उनले फासिवादी सरकारद्वारा हत्या गरिएका कमरेड कुमार पौडेललाई महान् सहिद घोषणा गरेका छन् ।
‘केपी वली नेतृत्वको सामाजिक दलाल सरकारले देशलाई भयानक भिडन्ततिर धकेल्ने र लूटको राज्य लम्ब्याउने बदनियतले मुठभेडका नाममा दैनिक निःशस्त्र कार्यकर्तालाई नियन्त्रणमा लिँदै हत्या गर्दै गरेको’ कुरा उल्लेख गर्दै त्यस वक्तव्यमा ‘असार ५ गते राजनीतिक कार्यक्रम सकेर फर्कंदै गर्दा सर्लाही लालबन्दी १ लखन्ती खोलामा हाम्रो पार्टीका सर्लाही जिल्ला इन्चार्ज कमरेड कुमार पौडेललाई सरकारले नियन्त्रणमा लिएर बर्बरतापूर्वक हत्या गरेको छ र जनता तथा आफ्नो गैरन्यायिक हत्या र अपराधमाथि पर्दा हाल्न कथित भिडन्तको कथा सार्वजनिक गरेको; उल्लेख गरिएको छ ।
फासिवादी सरकारद्वारा दाबी गरिएको कथित “मुठभेड”लाई खारेज गर्दै महासचिव बिप्लवले त्यस कथित “मुठभेड”का बारेमा निष्पक्ष छानबिनकालागि सबै न्यायप्रेमी नागरिक, मानव अधिकारकर्मी, सञ्चारजगत् र बौद्धिक तथा नागरिक समाजसँग अपिल पनि गरेका छन् ।

ने.क.पा. महासचिव बिप्लवले त्यही वक्तव्यमार्फत केपी वली सरकारले फासिवादी शैलीमा देशभर बर्बरतापूर्वक हत्या अभियान सञ्चालन गरेको भन्दै त्यसका विरुद्ध यही असार १० गते मङ्गलबार नेपाल बन्दलगायत सङ्घर्षका कार्यक्रम पनि सार्वजनिक गरेका छन् ।
सार्वजनिक सङ्घर्षका कार्यक्रमहरुमा असार ७ गते प्रचार प्रसार, असार ८ गते कोणसभा तथा घरदैलो , असार ९ गते मसाल जुलुस र असार १० गते नेपाल बन्द लगायत रहेका छन् ।
महासचिव विप्लवको वक्तव्यको अन्त्यमा भनिएको छ, ‘पार्टी फासिवादी सरकारद्वारा हत्या गरिएका कमरेड कुमार पौडेललाई महान् सहिद घोषणा गर्दछ र क्रान्तिको प्रक्रियामा बदला लिने प्रतिबद्धता व्यक्त गर्दछ । सहिदका आफन्तजनप्रति गहिरो समवेदना प्रकट गर्दै सहिदको सपना पूरा गरिछाड्ने प्रतिबद्धता व्यक्त गर्दछ ।’
