गृहमंत्री रामबहादुर थापाले सातै प्रदेशका प्रहरी प्रमुखहरुलाई काठमाण्डौ बोलाएर राजावादी र विप्लव नेतृत्वको ने.क.पा.लाई कडाइ गर्न निर्देशन दिए लगत्तै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई जिल्ला इन्चार्जसहित पाँच जना नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ ।
प्रहरीको गिरफ्तारीमा पर्नेहरुमा ने.क.पा. रामेछाप जिल्ला इन्चार्ज कुलदीप तामाङ, दोलखा जिल्ला इन्चार्ज यादव दाहाल र दोलखा जिल्ला सेक्रेटरी निशान जिरेलसहित पाँच जना रहेका छन् । त्यस्तै अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य मुकुन्द श्रेष्ठ र अखिलकै उदयपुर जिल्ला सदस्य विकास तामाङ पनि गिरफ्तार भएका छन्।
महानगरिय प्रहरी अपराध महाशाखाको टोलीले एक जनालाई काठमाडौं र चार जनालाई भक्तपुरबाट पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शहकुल थापाले जानकारी दिएका छन् ।
सरकारद्वारा प्रतिबन्धित नेकपाका कार्यकर्ताले गोप्य रुपमा संगठन विस्तार लगायतका गतिविधि गरिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सबैलाई हातहतियार तथा खरखजना र राज्यद्रोहको मुद्दा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच रोल्पाबाट प्राप्त जानकारी अनुसार, नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्वको ने.क.पा. रोल्पाको गंगादेव गाउपालिका इन्चार्च सन्दिप र माडी गाउपालिका इन्चार्च स्यामसहित ४ जनालाई उनीहरु सुतिरहेको बेला घर्तिगाउँको पेदिखोला ढाडबासबाट प्रहरीले गए राती करिब १ बजे पक्राउ गरेको खबर छ ।
उनीहरुसंगै अन्य कार्यकर्ताहरु देब बहादुर ओली ‘दिनेश’ र गणेशलाई पक्राउ गरेको जनाइएको छ । पक्राउ गरे लगतै उनीहरुलाई रोल्पा सदरमुकाम लिबाङ्गतर्फ लागिएको प्राप्त समाचारमा जनाइएको छ ।
यसै गरी रोल्पा नगरपालिका लिबाङ्ग टुडिखेलमा गद्दाफी चिया पसल भनेर चिन्निने ‘जलजला टी एण्ड कफी पसल’का ब्यबसायी देउराम सुनारलाई पनि प्रहरीले पक्राउ गरेको छ । स्रोतका अनुसार सुनार हिरासतमा बसेका व्यक्तिहरुलाई चिया पुर्याउन गएको बेला बुधबार दिउसो उनलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नुको कारण स्पष्ट नभएपनि प्रतिबन्धित नेकपाको आस्थावान भएकै कारण गिरफ्तार भएको हुनसक्ने अनुमान गरिको छ । उनलाई अहिले हिरासतमै रखिएको छ ।