इमान्दार मिडिया डट कमका पोखरा समाचारदाता राजकुमार घिमिरेलाई प्रहरीले आज पोखराबाट पक्राउ गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी समर्थक भएको भन्दै प्रहरीले आज उनलाई पोखराको बगरबाट पक्राउ गरेको हो । कास्की जिल्लाको रुपा गाउँपालिका सिद्ध घर भएका घिमिरेलाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष त्रिभुवन पौडेलले जनतालाई सुसुचित गराउन कार्य क्षेत्रमा खटिएको पत्रकारलाई पक्राउ गरिएकोमा बिरोध गरेका छन् । उनले जनसंचार डट कमसंगको कुराकानीमा कार्यक्षेत्रमा खटिएका पत्रकारलाई राजनीतिक आक्षेप् लगाउनु दु:खद भएको उल्लेख गर्दै अविलम्व बिना शर्त रिहाइको माग गरे ।
यसै गरी आज नै कास्की प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा बुलेट भनिने सन्जिब काकीलाई पनि पक्राउ गरेको छ । पोखराको बगर क्षेत्रबाट नै पक्राउ गरिएका कार्कीलाई पनि अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ । उनको घर प्युठान भएको बताइएको छ ।