उच्च अदालत पोखरा बार एसोसिएसन भवनबाट मध्यरात गिरफ्तार गरिएका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कास्कीका जिल्ला सेक्रेटरी जंगबहादुर भण्डारी ‘आक्रोश’सहित ९ जना विद्यार्थी नेताहरुलाई रिहा गर्न अदालतले दोस्रो पटक आदेश दिएको छ ।
मंगलवार भएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथिको बहस सुनुवाईपछि उच्च अदालत पोखराका माननीय मुख्य न्यायाधिश यज्ञप्रसाद बस्याल र माननीय न्यायाधिश रामप्रसाद खनियाको संयुक्त इजलाशले उनीहरुलाई रिहा गर्न आदेश दिएको हो ।
उच्च अदालत पोखराको आदेश अनुसार रिहा भएको भनिएका ने.क.पा.का नेता तथा कार्यकर्ताहरुमा ने.क.पा. कास्की जिल्ला सेक्रेटरी बिबेक भण्डारी ‘आक्रोश’ , नेकपा कास्कीका जिल्ला सदस्य एबम एरिया इन्चार्ज सन्तोष परियार ‘परिवर्तन’ , पार्टी जिल्ला सदस्य एबम अखिल क्रान्तिकारी केन्द्रीय सदस्य/गण्डक ब्युरो संयोजक मिलन राइ, पार्टी जिल्ला सदस्य एबम अखिल क्रान्तिकारी केन्द्रीय सदस्य/कास्की जिल्ला अध्यक्ष काजी गुरुङ,जिल्ला उपाध्यक्ष आस्था नेपाली, अखिल क्रान्तिकारी पि एन क्याम्पस जिल्ला अध्यक्ष प्रकाश बास्तोला र उपाध्यक्ष एबम सहिद पुत्र सुजन सापकोटा, सचिब राजन साउद र गगन परियार रहेका छन् ।
उच्च अदालत पोखराले अदालतका रजिस्ट्रारको उपस्थितिमा उनीहरुलाई रास्ट्रिय मानव अधिकार आयोग र उच्च अदालत पोखरा बार एसोसिएसनका पदाधिकारीको रोहवरमा छाड्न आदेश दिएको थियो ।

अदालतको आदेश वमोजिम रास्ट्रिय मानव अधिकार आयोग पोखराकाअधिकृतद्वय ज्योतिप्रसाद घिमिरे र टंक खनाल तथा उच्च अदालत पोखरा बार एसोसिएसनका अध्यक्ष रोहितराज बास्तोलाले उनीहरुलाई बुझेको कागज गरेका छन् ।
अदालतमा आफुहरु रिहा भएको कागजमा सहीछाप गरिसकेका उनीहरुलाई आज पनि फेरी गिरफ्तार गर्ने तयारी गरिएको प्राप्त समाचारमा जनाइएको छ ।
उच्च अदालत पोखरा परिसरमा रहेको बार एसोसिएसनको भवनबाट मध्यरात उनीहरुलाई गिरफ्तार गर्दा ब्यापक बिरोध भएपछी उनीहरुलाई अदालत परिसर बाहिर निस्कनासाथ गिरफ्तार गर्ने तयारी कास्की प्रहरीले गरेको छ ।
यसैबीच प्राप्त जानकारी अनुसार, अदालत परिसर बाहिर निस्कना साथ प्रहरीले उनीहरुलाई जिल्ला प्रहरी कार्यालय तनहुँ लैजाने तयारी गरिरहेको छ । उनीहरुविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँबाट राजद्रोह सम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएको बताइएको छ ।