विगत ५ दिनदेखि त्रिवि सेवा आयोग परिसरमा धर्नामा बसिरहेका मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्यसहित १७ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । सोमबार किर्तीपुरस्थित त्रिवि सेवा आयोगको गेटबाट केन्द्रीय सदस्य सूर्य श्रेष्ठसहित १७ जनालाई प्रहरीले गिरफ्तार गरेको हो ।
पक्राउ पर्नेमा सो पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल, महासचिव पेशल दाहाल, सचिवद्वय महेश श्रेष्ठ र सुर्य कार्की, केन्द्रीय सदस्यहरु जितेन्द्र लम्साल, सोभा सेञ्चुरी, सागर शाही, नरबहादुर कुमाल लगायत रहेका छन् । गिरफ्तार गरिएका सबैलाई महानगरीय प्रहरी बृत्त कालीमाटीमा राखिएको छ ।
उनीहरुलाई गिरफ्तार गर्ने क्रममा प्रहरीले हातपात गरेको र केन्द्रीय सदस्य सुर्य श्रेष्ठ लगायत ३ जना घाइते भएको बताइएको छ । नियन्त्रणमा लिने क्रममा घाइते हुनेहरुमा श्रेष्ठसहित राम नेपाली र कुमार बर्तौला रहेका छन् ।