उच्च अदालत पोखरा परिसरभित्रको बार एसोसियनको भवनबाट बिहीबार मध्येरती गिरफ्तार गरिएका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीका नौजना नेता तथा कार्यकर्तालाई प्रहरीले शान्ति सुरक्षामा खलल पुर्याएको” भन्दै मुद्दा दर्ता गरेको छ ।
बार एसोसियनको भवनभित्र बसिरहेका ने.क.पा.का नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले मध्यराती गिरफ्तार गरेर सोझै डाँडाकोनाक प्रहरी चौकीमा लगेकोमा शुक्रबार दिउँसो जिल्ला प्रशासन कार्यालय कास्कीमा उपस्थित गराएर प्रहरीले “शान्ति सुरक्षामा खलल पुर्याएकाले ” भन्दै केही सार्वजनिक अपराध मुद्दा दर्ता गरेको छ ।
शान्ति सुरक्षा खलल पुर्याएको आरोप लागेका ने.क.पा.का नेता तथा कार्यकर्ताहरुमा ने.क.पा. कास्की जिल्ला सेक्रेटरी बिबेक भण्डारी ‘आक्रोश’ , नेकपा कास्कीका जिल्ला सदस्य एबम एरिया इन्चार्ज सन्तोष परियार ‘परिवर्तन’ , पार्टी जिल्ला सदस्य एबम अखिल क्रान्तिकारी केन्द्रीय सदस्य/गण्डक ब्युरो संयोजक मिलन राइ, पार्टी जिल्ला सदस्य एबम अखिल क्रान्तिकारी केन्द्रीय सदस्य/कास्की जिल्ला अध्यक्ष काजी गुरुङ,जिल्ला उपाध्यक्ष आस्था नेपाली, अखिल क्रान्तिकारी पि एन क्याम्पस जिल्ला अध्यक्ष प्रकाश बास्तोला र उपाध्यक्ष एबम सहिद पुत्र सुजन सापकोटा, सचिब राजन साउद र गगन परियार रहेका छन् ।
उनीहरुसहित १८ जना २५ गते घान्द्रुकबाट समातिएकोमा अरुलाई प्रहरीले सार्वजनिक अपराध मुद्दा लगाएको छ भने यिनीहरुलाई राज्यविरुद्धको कसुरमा जिल्ला अदालतबाट म्याद थपेर राखेको थियो।
उनीहरुलाई बिहिबार दिउँसो उच्च अदालत पोखराका माननीय न्यायाधिशद्वय तेजबहादुर कार्की र सुभाष पौडेलको ईजलाशले “प्रहरी हिरासतमा राख्ने कार्य गैरकानूनी” ठहर गर्दै “तुरुन्तै थुनामुक्त गर्न” आदेश दिएको थियो । तर उनीहरुले आफुलाई प्रहरीले फेरी गिरफ्तार गर्न सक्ने सम्भावना देखेपछी उच्च अदालत परिसरभित्रै रहेको बार एसोसिएसनको भवनभित्र सुरक्षित भै बसेका बेला मध्यराती प्रहरीले बार भवनको ताला खोलेर फेरी गिरफ्तार गरेको थियो ।
बिहीबार मध्यराति फेरि पक्राउ गरिएपछि उनीहरुको आफन्तले दालतको आदेश अवज्ञा भएको भन्दै रिहाइका लागि बन्दी प्रत्यक्षीकरणको रिट उच्च अदालतमा शुक्रबार दर्ता गराएका छन् । पक्राउ परेका जंगबहादुर भण्डारीका आफन्त पृथ्वी भण्डारीले रिट हालेका हुन्।