आफ्ना नेता तथा कार्यकर्ता ब्यापक रुपमा गिरफ्तार गर्न थालिएपछी आक्रोशित बनेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले गिरफ्तार आफ्ना नेता तथा कार्यकर्ता बिना शर्त रिहाइको लागि २४ घन्टे अल्टिमेटम दिंदै आम शैक्षिक हड्ताल सहितका चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।
अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै चरणबद्ध आन्दोलनका घोषणा गरेका हुन् । अखिल (क्रान्तिकारी)को घोषित आन्दोलन अनुसार, जेठ ३० र ३१ गते देशव्यापी स्कूल, क्याम्पस र विश्वविद्यालयहरुमा विरोध कार्यक्रम, अन्तरक्रिया, विरोध व्यानर, पर्चा वितरण, भण्डाफोर, राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी, हस्ताक्षर संकलन र कोणसभा । असार १, २ र ३ गते जुलुस प्रदर्शन । असार ४ गते देशव्यापी क्याम्पसहरु अगाडि १ घण्टा चक्काजाम (९ बजेदेखि १० बजेसम्म ) । असार ५ गते देशव्यापी मसाल जुलुस । असार ६ गते गैह्रन्यायीक गिरफ्तारी गरिएका स्थानहरु उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, बारा, पर्सा, कास्की, बाँके, कैलाली, जाजरकोट र मुगु जिल्लामा १ दिने आम शैक्षिक हड्ताल र असार ७ गतेपछि दोस्रो चरणका संघर्षका कार्यक्रहहरु घोषणा रहेका छन् ।
अखिल (क्रान्तिकारी) अध्यक्ष ढकालद्वारा जारी विज्ञप्तिमा जनाइए अनुसार, संगठनका सचिवालय सदस्य तथा भेरी ब्युरो संयोजक पुष्प न्यौपाने, गण्डक ब्युरो संयोजक मिलन राई, केन्द्रीय सदस्य तथा बाँके जिल्ला अध्यक्ष मदन चन्द, केन्द्रीय सदस्य तथा जाजरकोट जिल्ला अध्यक्ष प्रेम शाही, केन्द्रीय सदस्य तथा धादिङ जिल्ला अध्यक्ष अटल पाण्डे, केन्द्रीय सदस्य तथा कास्की जिल्ला अध्यक्ष काजी गुरुङ, कैलाली जिल्ला अध्यक्ष बबरजंगसिंह, पृथ्वीनारायण क्याम्पस जिल्ला अध्यक्ष प्रकाश बास्तोला, पर्सा जिल्ला अध्यक्ष राधेश्याम साह, बारा जिल्ला अध्यक्ष भुपती साह, मुगु जिल्ला संयोजक नरसुर बुमी, पिएन जिल्ला उपाध्यक्ष आस्था नेपालीलगायत देशैभरिबाट दर्जनौं नेता तथा कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।
सो विज्ञप्तिमार्फत अध्यक्ष ढकालले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई राजनैतिक आस्थाको आधारमा गैरन्यायिक रुपमा गिरफ्तार गरी झुठा मुद्दाहरुमा फँसाई हिरासत र जेलमा अमानविय तरिकाले राखिएकोप्रति घोर भत्र्सना र निन्दा गरेका छन् ।
वैज्ञानिक समाजवादी राज्य व्यवस्था र वैज्ञानिक समाजवादी शिक्षा प्रणाली स्थापनाकोलागि निरन्लतर जनक्रान्तिमा लागिरहने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष ढकालले अन्यायपूर्ण, जनविरोधी, राष्ट्रघाती, भ्रष्ट र फासिवादी राज्य व्यवस्थाका जुनसुकै प्रकारका दमनका अगाडि कदापी नझुक्ने वाचा गरेका छन् ।
अन्त्यमा उनले आफ्नो संगठनले अघि सारेका आन्दोलनका कार्यक्रमहरु सफल पार्न सहयोग गरिदिनुहुन सम्पूर्ण देशभक्त, वामपन्थी, प्रगतिशिल जनसमुदायहरु र आम युवा विद्यार्थीहरुलाई आग्रह पनि गरेका छन । त्योयति मात्र हैन उनले संघर्षबाट उत्पन्न हुने असहज परिस्थितिको जिम्मेवार स्वयं यो सामाजिक फासिवादी सरकार हुने चेतावनी पनि दिएका छन ।
