भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव रामाश्रय यादवलाई प्रहरीले आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको अभियाेगमा घरबाटै सोमबार दिउँसो पक्राउ गरेको छ ।
महोत्तरी सोनमा गाविस–५ घर भई हाल ललितपुर धोविघाट बस्दै आएका ४५ वर्षीय यादवले १८ वर्षीया आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको अभियाेगमा प्रहरीले पक्राउ गरेको हो ।
घरमा कोही नभएको मौकामा यादवले छोरीलाई आमा अहिले आउँदिन भन्दै जबरजस्ती करणी गर्दै आएका थिए । आफ्नै घरको तेस्रो तल्लाको कोठामा यादवले “विदेशतिर छोरीलाई करणी गर्छन नेपालमा पनि गर्दा केही हुँदैन” भन्दै छोरीलाई करणी गर्दै आएको अनुसन्धानको क्रममा देखिन आएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रवीन्द्र धानुकले जानकारी दिए । उनले आफ्नै छोरीलाई बारम्बार जबरजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीको भनाई छ ।
१२ कक्षामा अध्ययनरत छोरीलाई उनले विगत ३/४ वर्षदेखि छोरीलाई संवेदनशील अंगमा हातले छुने र डरधम्की देखाई करणी गर्दै आएको प्रहरी अनुसन्धानमा खुल्न आएको छ ।
अचम्मको कुरा त के भने आफनी छोरी आफ्नै श्रीमानद्वारा बलात्कृत हुँदै आएको थाहा पाएपनि उपसचिव रामाश्रय यादवकी श्रीमतीले “आफ्नै घरभित्रको “भन्दै लुकाएकी थिइन । तर गत जेठ १९ गते उनै उपसचिव रामाश्रय यादवकी श्रीमती र पिडित छोरी सो घटना बाहिर ल्याए । आफु पढ्ने कलेजकै एक शिक्षकसंग प्रेममा रहेकी ती किशोरीले आफ्नै प्रेमी शिक्षककै दबाबको कारण किशोरीले पीडक बाबुबिरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।