बिहीवार साँझ सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा आएको ठूलो हावाहुरीमा परि दुईजनाको मृत्यु भएको र ७० भन्दा बढी मानिस घाइते भएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले बीबीसीलाई बताएका छन्।
हावाहुरीका कारण मोटरसाइकलमा सवार कैलाली गोदावरीका वीरबहादुर चौधरीको टिपरको ठक्करबाट मृत्यु भएको हो।
त्यस्तै टिकापुरका लाहानु चौधरीको पनि हावाहुरीका कारण मृत्यु भएको छ। पोल्ट्री फार्ममा काम गरिरहँदा हावाहुरीले पर्खाल खसालेपछि त्यसले थिचेर उनको मृत्यु भएको बताइएको छ।
घाइतेमध्ये धेरैजसोको अहिले सेती अञ्चल अस्पताल, पद्मा अस्पताल अत्तरिया, निसर्ग अस्पताल हसनपुरलगायतमा उपचार भइरहेको बताइएको छ।
घाइते मध्ये अवस्था गम्भीर भएका दुईजनालाई थप उपचारका लागि भारत पठाइएको र दुईजनालाई कोहलपुर पठाइएको जानकारी आफूले पाएको धनगढीस्थित हाम्रा संवाददाता उमीद बाग्चन्दले बताए।
बिहीवार साँझ करिब सवा ७ बजे कञ्चनपुरमा देखापरेको हावाहुरी करिब आधा घण्टा चलेको थियो। पौने ८ बजेसम्म चलेको हावाहुरीले कैलाली जिल्लामा ज्यादा क्षति पुर्याएको देखिएको प्रमुख जिल्ला अधिकारी बोहोराले बीबीसीलाई बताए।
हावाहुरीका कारण कैलाली र कञ्चनपुरमै घर र टहराको छाना उडेको अनि कतिपय ठाउँमा रुखहरू ढलेका कारण बाटो अवरुद्ध भएको र बिजुली आपूर्ति बन्द भएको छ।
प्रभावित क्षेत्रहरूमा उद्धारका सुरक्षा निकायका कर्मचारीहरू परिचालित भएको हाम्रा सहकर्मी बाग्चन्दले धनगढीबाट बताएका छन्।
राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र (एनईओसी) ले हावाहुरी पूर्वतिर बढ्ने क्रममा रहेको भन्दै सकेसम्म सतर्कता अपनाएर क्षतिबाट जोगिन भनेको छ।
त्यस्तै जल तथा मौसम पूर्वानुमान महाशाखाले पनि ट्वीटमा हावाहुरीले दाङ, कपिलवस्तु र रुपन्देहीसम्म असर गर्ने जनाएको छ।
महाशाखाको ट्वीटमा लेखिएको छ, “हाल पश्चिमि तराईको कञ्चनपुर, कैलाली, बर्दिया , बाँकेमा देखिएको हावाहुरिको प्रणाली पूर्वतिर सर्दै गइरहेकोले यसले दाङ, कपिलबस्तु र रुपन्देहीसम्म पनि असर गर्ने देखिन्छ। यो प्रणालीले पश्चिमका अन्य पहाडी जिल्लाहरूमा पनि हावाहुरी र मेघ गर्जन हुन सक्ने देखिन्छ।”
करिब दुई महिनाअघि बारा र पर्साका कतिपय ठाउँमा विनाशकारी हावाहुरीका कारण ३० जनाभन्दा बढीको मृत्यु भएको थियो। बिबिसीबाट साभार