नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतलाईअख्तियार दुरुपयोग अनुसन्धान आयोगले असहयोग गरेको रहस्य खुलेको छ ।सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै असहयोग गरेको भन्दै कारबाहीको चेतावनी दिएपछी यस्तो रहस्य खुलेको हो ।
अख्तियारले कांग्रेस नेता जोशीविरुद्ध २०६० असोजमा भ्रष्टाचार मुद्दा चलाएको थियो । तर विशेष अदालतले उनलाई सफाइ दिएपछि अख्तियार सर्वोच्चमा पुनरावेदनका लागि गएको थियो । सर्बोच्च अदालतले २०७१ असोज २९ गते नै सो मुद्दा सम्बन्धित ०६० को अभिलेख पठाउन आदेश दिए पनि त्यस यता पटक पटक अटेरी गर्दै ‘सक्कल मिसिल नभेटिएको” जवाफ पठाउँदै आएको सर्वोच्च अदालतले जनाएको छ ।
जोशिबिरुद्धको मुद्दाका सक्कली मिशील पांच वर्ष बित्दा पनि अख्तियारले नपठाए पछी सर्वोच्चले आयोगका सचिवसहितका अधिकारीलाई कारवाहीको चेतावनी दिएको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सपना प्रधान मल्लको संयुक्त इजलासले जोशीविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने २०६० साल वैशाख २५ गतेको निर्णयसहितको सक्कल मिसिल, फायलसमेत लिई अदालतमा उपस्थित हुन सचिव स्वयंलाई आदेश दिएको हो । अदालतलाई कागजात नबुझाउनु आपत्तिजनक भन्दै कारवाही तथा सजाय किन गर्नु नपर्ने भन्ने स्पष्टिकरण समेत अख्तियार अधिकारीलाई सोधिएको छ ।
आयोगका काम कारवाहीसम्बन्धी रजिष्टर लगायतका अभिलेख ५ वर्षदेखि उपलब्ध नगराई अदालतको न्याय सम्पादनमा बाधा पुर्याएको सर्वोच्चले उल्लेख गरेको छ ।
२०६० सालमा जोशीलाई मुद्दा चलाउँदा गरिएको निर्णयको रजिष्टर सक्कल फाइल र सक्कल मिसिल पठाउन अदालतले ५ वर्षयता पाँच पटक ताकेता गरेको थियो । पटक पटक माग्दा पनि नभेटिएको पछि फेला परेमा यथाशीघ्र पठाउने भनी अख्तियारले अदालतमा पठाएको जवाफ गैरजिम्मेवार भएको आदेशमा भनिएको छ ।
आदेशमा भनिएको छ ‘आयोग स्वयंले गरेको निर्णय, आयोगको आफ्नो काम कारवाहीसम्बन्धी रजिष्टरलगायतका अभिलेख पठाउन भनी २०७१ साल भाद्रदेखि हालसम्म पटक पटक अदालतबाट लेखी पठाउँदा अहिले करीव ५ वर्षसम्म पनि आदेश बमोजिमको अभिलेख कागजात उपलब्ध नगराउनु आपत्तीजनक देखिन्छ । यसबाट न्याय निरुपणमा ढिलाइ भएको, न्यायिक प्रक्रियामा अवरोध पैदा भएको तथा मुद्दाका पक्षलाई अनावश्यक हैरानी हुन पुगेको देखियो ।’
अदालतको आदेशमा यस प्रकारको प्रवृत्ति स्वीकार्य हुन नसक्ने भन्दै अदालतले माग गरेको अभिलेख नपठापई अटेरी गरेको, न्याय सम्पादन प्रक्रियामा सहयोग नगरी अवरोध पैदा गरेको र पक्षलाई अनावश्यक हैरानी पुगेकाले अख्तियार सचिव महेश्वर न्यौपाने, सम्बन्धित अन्य अधिकृत एवं कर्मचारी समेत उपर कारवाही किन नहुने भनी प्रष्टिकरण सोधिएको छ ।
जोशीको भ्रष्टाचार मुद्दामा बिहीबार सुनुवाई हुने भने पनि अख्तियारबाट सक्कल फाइल नपुगेपछि सो आदेश जारी भएको हो ।
अख्तियारले जोशीको अकुत सम्पत्ति छानविन गर्ने क्रममा छोरा दिनेश जोशी,सालो ताराराज पाण्डेलगायतका व्यक्तिको नाममा भेटिएकाले उनीहरुलाई समेत विपक्षी बनाएको थियो ।