नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको स्पस्ट पारेका छन् ।
‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको हतियारधारी समुहले गएराति सोलुखुम्बुको विकट क्षेत्र छेस्कामा प्रहरी चौकी आक्रमणको प्रयास गरेको भन्ने समाचार सार्वजनिक भएपछी ने.क.पा. प्रवक्ता प्रकाण्डले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको स्पस्ट पारेका हुन् ।
पार्टीका प्रवक्ता प्रकाण्डले गएराति सोलुखुम्बुमा छेस्कामा प्रहरी चौकी आक्रमण प्रयास भएको भन्ने समाचारको खण्डन गर्दै ‘फेक न्युज’ भनेका छन् । उनले पूर्वी नेपालमा दमन गर्ने सरकारी षड्यन्त्र अनुरुप ‘फेक न्युज’ सार्वजनिक गराइएको पनि दाबी गरेका छन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो पार्टीद्वारा प्रहरी चौकीमा आक्रमण प्रयास भएको भन्ने नियोजित र षड्यन्त्रपूर्ण प्रचारवासीप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।’
यसअघि गएराति सोलुखुम्बुको विकट क्षेत्र छेस्कामा प्रहरी चौकी आक्रमणको प्रयास भएको सार्वजनिक भएको थियो । प्रहरीले भने थप सुरक्षाका लागि विपदको टोली हेलिकोप्टरमार्फत सोलुखुम्बु क्षेत्रमा पठाइसकेको छ ।