सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्काममा हतियारधारी समूह आएको हल्ला चल्यो । हतियारधारी भनिएको त्यो समूह हतियारधारी थियो कि थिएन, कसैलाई जानकारी पनि थिएन । वास्तविक कुरा के हो ? कसैलाई थाहा पनि थिएन । तर आइतबार दिउँसो सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्कामका स्थानीयले गाउँमा हतियारधारी समूह छिरेको सूचना जिल्लाका सुरक्षा अधिकारीलाई दिए । सूचना पाएलगत्तै प्रहरीको आशंका विप्लव समूहतिर तेर्सियो ।
यो स्थितिमा छेस्काममा हतियारधारी छिरेको सूचना आएपछि ८ जनाको संख्यामा रहेको प्रहरी चौकीको टोली झस्कियो । जिल्लाबाट मद्दतका लागि थप फौज आउनसमेत समय लाग्ने भएकाले प्रहरी टोलीले हतियारधारीलाई नियन्त्रणमा लिनुको सट्टा कुलेलाम ठोक्यो ।
आइतबार राति चौकी छाडेर हिँडेका प्रहरी अधिकारीहरु विहान पुनः चौकीमा पुगे । त्यहाँ आक्रमणको कुनै निशाना थिएन । कागज पत्र र अन्य दस्तावेज पनि सकुशल थिए ।
यस्तो अवस्थामा सोलुखुम्बुमा हतियारसहित छिरेको समूह कुन हो ? उसको क्षमता कति थियो ? यसको विश्लेषण नभइ सुरक्षा अधिकारी किन भागे ? भन्ने प्रश्नको जवाफ प्रहरी मुख्यालयले खोज्नु आवश्यक देखिएको छ ।
जिल्लाका एक सुरक्षा अधिकारीका अनुसार त्यसरी गाउँ प्रवेश गरेका भनिएका हतियारधारी विप्लव समूहका कार्यकर्ता थिए/थिएनन् भन्ने पुष्टि समेत भएको छैन । अहिले अनुसन्धानका लागि जिल्ला प्रहरी प्रमुख डीएसपी सालिकराम शर्मा आफैं घटनास्थल पुगेका छन् ।
प्रहरी मुख्यालयले भने जिल्लाबाट आएको सूचनाको गम्भिरतालाई मध्यनजर गर्दैै थप मद्दतका लागि हेलिकोप्टरमार्फत टोली पठाएको छ । सशस्त्र प्रहरीले पनि विराटनगर र काठमाडौंबाट विपदको फौज सोलुखुम्बुमा उतारेको छ ।
प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले भने कसैले प्रहरी चौकीमा कब्जा नगरेको र समाचारमा आएका कुरा गलत भएको बताउँछन् । तर उनी , ‘जिल्लामा विप्लवको गतिविधि बढेको ” तथ्य भने स्वीकार्छन ।
उता छेस्काम प्रहरी चौकी आक्रमण प्रयास गरेको भनी आरोप लगाइएको बिओलाव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले साँझ पाँच बजेसम्म आफ्नो कुनै धारणा सार्वजनिक गरेको छैन ।