कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही लक्षित गर्दै कालिकोट जिल्लाको पलाता गाउँपालिकाको थिर्पुमा बम बिष्फोट भएको छ।
कालिकोट जिल्लाको पलाँता गाउँपालिका–९ थिर्पुमा आयोजना गरिएको जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता तथा पलाँता खेलकुद तथा पर्यटन महोत्सव उद्घाटन गरी फर्किने क्रममा मुख्यमन्त्रीलाई नै लक्षित गरी बम बिष्फोट गराईएको प्राप्त समाचारमा जनाइएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकास मन्त्री दल रावल सहितको टोली पलाँता गाउँपालिका केन्द्रमा जिल्लास्तरीय ११औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता तथा पलाँता खेलकुद तथा पर्यटन महोत्सवलाई उद्घाटन गरी हेलिप्याडस्थलमा जाने क्रममा कार्यक्रम स्थलबाट करिब डेढ किलोमिटर दूरीमा विस्फोट भएका हो ।
कार्यक्रमस्थल नजिक बम बिस्फोट भएपछि धुँवा उडेको देखेपछि कार्यक्रममा सहभागीहरु आत्तिएका थिए । कडा सुरक्षाकाबीच मुख्यमन्त्री शाही, सामाजिक विकास मन्त्री रावल लगायत टोलीलाई हेलिप्याडस्थलबाट पठाइएको थियो ।
सो बम बिष्फोट बिद्रोही ने.क.पा.का कार्यकर्ताले गराएको हुन सक्ने सर्वत्र टिप्पणी भए पनि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले यस बारेमा आधिकारिक सुचना जारी गरेको छैन ।
यस अघि गणतन्त्र दिवसकै अवसरमा कालिकोटको महावै गाउँपालिका, जिल्ला सदरमुकाम र पलाँता खेलकुद तथा पर्यटन महोत्सव, जिल्लास्तरीय ११ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता, रेडियो पलाँता आवाज र सहिद स्मृति भवनको मुख्यमन्त्री शाहीले उद्घाटन गरेका थिए । उनले आफ्नो उद्घाटन मन्तव्यका क्रममा विप्लव नेतृत्वको ने.क.पा.लाई लक्षित गर्दै ‘दुई÷चारजनाले तर्साउँदैमा द्वन्द्व निम्त्याउन नसक्ने टिप्पणी गरेका थिए ।