विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले काठमाडौँमा भएको बम विस्फोटको घटनामा मृत्यु भएका चार जनासहित पांच जनालाई शहिद घोषणा गरेको छ । पार्टी महासचिव विप्लवले सोमबार विज्ञप्ति प्रकाशित गर्दै पाँचै जनालाई सहिद घोषणा गरेका हुन् ।
ने.क.पा.द्वारा शहीद घोषणा भएका लाल योद्धाहरुमा सुकेधारास्थित ढलाने पुल बिश्फोतानामा शाहदत प्राप्त गरेका दाङ जिल्लाको बबई गाउँपालिकाका अन्दाजी ३२/३३ वर्षका महान भनिने गोकुल रानामगर, कालिकोट जिल्लाको मुम्रा घर भएका अन्दाजी २७/२८ वर्षका विभुराम भन्ने दिपेन्द्र विक र निरन्तर मल्ल तथा घट्टेकुलो बिस्फोटमा प्रज्वल शाही रहेका छन् । शहिद घोषणा गरिएका मध्ये महान भनिने गोकुल राना जनमुक्ति सेनाका कमाण्डर हुन् भने प्रज्वल शाही अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य एबम सिटिईभीटि संयोजक हुन् ।

पार्टी महासचिव बिप्लवले जारी गरेको विज्ञप्तिमार्फत “काठमाडौँमा बम विस्फोटको घटनामा कसरी क्षति हुन पुग्यो, त्यसको सत्यतथ्य जनतामा ल्याउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । उनले यी सबै घटना हुनुको मुख्य दोषी केपी सरकारको फासिवादी दमन रहेको पनि स्पष्ट पारेका छन् । सहादत प्राप्त गर्नेहरूप्रति सिङ्गो पार्टीका तर्फबाट उनले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदना पनि व्यक्त गरेका छन् ।

महासचिव विप्लवले विज्ञप्तिमा कम्युनिस्टका नाममा केपी—पीके कम्पनीले नेपालमा फासिवादको अभ्यास गरिराखेको र यही क्रममा यो सामाजिक फासिवादी सरकारले नेकपा सम्बद्ध युवक सङ्गठनका नेता तीर्थराज घिमिरे ‘राजु’को गत जेठ ७ गते मङ्गलबार भोजपुर र खोटाङको सिमानामा पर्ने मैयुमको धोत्रेमा झूट्टो मुठभेटका नाममा निःशस्त्र अवस्थामा गिरफ्तार गरेर गोली हानी हत्या गरेको स्मरण गराउँदै यसरी ‘सरकारले गरेको हत्याको प्रतिरोध गर्नु एक क्रान्तिकारी पार्टीको अनिवार्य कर्तव्य हुन आउने’ प्रस्ट पारेका छन् ।
महासचिव विप्लवले विज्ञप्तिमा भनेका छन्, ‘केपी—पीके कम्पनीको सरकार गठन भएदेखि नै नेपाली जनता र राष्ट्रको मुक्तिकालागि गरिएका सङ्घर्ष, आन्दोलनमा उत्रिएका पार्टी र जनतामाथि दमन गर्नु, हाम्रो पार्टीका नेता÷कार्यकर्ता, शुभचिन्तकलाई गिरफ्तार गर्नु, यहाँसम्मकि दोहोरो मुठभेटका नाममा निःशस्त्र व्यक्तिमाथि गोली प्रहार गरी हत्याका घटनाहरू हुन थालेका छन् । साथै यो सरकारले राष्ट्रघात र जनघातमा पनि यसअघिका प्रतिक्रियावादी सरकारलाई उछिनिरहेको छ ।’
विप्लवले पार्टीको अपिललाई स्वीकार गर्दै सबै पक्षबाट भएको सहयोगबाटै नेपाल बन्द सफल भएको पनि बताएका छन् । उनले अगाडि भनेका छन्, ‘केपी सरकारको राज्यआतङ्क, कमरेड तीर्थ घिमिरे हत्याकाण्ड विरुद्ध आयोजित नेपाल बन्द कार्यक्रमलाई साथ र सहयोग दिने राजनीतिक पार्टी र आमजनसमुदायलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौँ । ‘महासचिव विप्लवले भनेका छन्, ‘हाम्रो पार्टी सहिदहरूको बलिदान खेर जाननदिने साथै एकीकृत जनक्रान्ति सफल गरिछाड्ने प्रतिबद्धता प्रकट गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ, ‘ l साथै राज्यआतङ्क, जनदमन र राष्ट्रघातका विरुद्ध सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरू, देशभक्त र लोकतान्त्रिक शक्तिहरूलाई एकताबद्ध भएर सङ्घर्षमा अघि बढ्न विशेष आह्वान गर्दछौँ ।’