प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले हिंसाको राजनीति परित्याग गर्न विद्रोही ने.क.पा.लाई र निषेधको राजनीति परित्याग गरी समाधान खोज्न सत्तारुढ नेकपा र नेपाल सरकारलाई सार्वजनिक अपिल गरेको छ ।
राजधानीका विभिन्न स्थानमा आइतबार भएका विभिन्न बम विस्फोटमा भएको मानवीय क्षतिपछि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक प्रेस विज्ञप्ति जारी गर्दै सरकार र बिद्रोही ने.क.पा.संग यस्तो अपिल गरेका हुन् ।
प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा आइतबार भएका विभिन्न बम विस्फोटमा भएको मानवीय क्षति प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउंदै “यस्ता घटना हुनुलाई दुखद्” भनिएको छ।
‘नेपाली जनताको लामो संघर्षबाट प्राप्त उपलब्धीहरूको रक्षा र विकासमा सबै थरी शक्ति ऐक्यवद्ध ढंगले अघि बढ्नुपर्ने बेला यस्ता घटना हुनु अत्यन्तै दुःखद छ’, विज्ञप्तिमा भनिएको छ।
ललितपुरमा केही महिनाअघि भएको विस्फोट, भोजपुरमा जेठ ७ मा भएको ‘फेक इन्काउन्टर’ र आज काठमाडौँमा भएको घटनाले शान्तिपूर्ण संवाद भन्दा समाधानको अर्को विकल्प छैन भनेर प्रष्ट्याएको कांग्रेसको ठहर छ।
‘बम विष्फोटमा परेर जीवन गुमाउनेहरू विद्रोही पक्षका हुन् या विपक्षका तर अमूल्य जीवन गुमेको छ र शान्ति स्थापनापछिको नेपाली समाजलाई हार्दिक ढंगले अघि लिएर जाने आम नेपालीको चाहनालाई मर्माहत बनाएको छ’, शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘लामो हिंसाबाट जर्जर भएर बल्ल शान्तिको सास फेरिरहेको नेपालमा पछिल्ला घटनाक्रमहरुबाट अन्ततः कसैको विजय नहुने विषयप्रति गम्भीर बन्न राज्य र विद्रोही पक्ष दुवैलाई सचेत गराउन चाहन्छौँ।’