नेपाल बन्द : बम बिस्फोट, सवारी साधनमा पेट्रोल बम प्रहार, ट्रकमा आगजनी

नेपाल बन्द : बम बिस्फोट, सवारी साधनमा पेट्रोल बम प्रहार, ट्रकमा आगजनी


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १३ जेष्ठ २०७६
  • 7.4K
    Shares

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको नेपाल बन्दका कारण आज देशैभर जनजीवन प्रभावित बनेको छ भने ठाउँ-ठाउँमा बम बिष्फोट र आगजनीका घतानाहरु भएका समाचारहरु प्राप्त भएका छन् । बन्दका कारण पूर्वपश्चिम राजमार्गमा सवारी साधन चलेका छैनन् । मुख्य बजार क्षेत्र पनि सुनसान छन् ।

नेपाल बन्दको दिन आज एकाबिहानै तनहुँ जिल्लाको डुम्रेमा सिलिन्डर बम बिष्फोट भएको छ । बम बिष्फोटका कारण भएको क्षति बारे विवरण आउन बाँकी छ भने गएराती तनहुँको दुलेगौंडामा पनि बम बिष्फोट भएको प्राप्त समाचारमा जनाइएको छ ।

त्यस्तै आज बिहान साढे २ बजेको समयमा नवलपुर जिल्लाको मध्यबिन्दु नगरपालिका वडा नम्बर ११ अरुणखोलामा मालबाहक ट्रकमा पेट्रोल बम प्रहार भएको छ । पश्चिम बाट पूर्ब आउदै गरेको लु २ ख १०८ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार भएको प्रहरी चौकी अरुणखोलाले जनाएको छ । पेट्रोल बमप्रहारका कारण ट्रक दुर्घटनामा परेको प्रहरी चौकी अरुणखोलाले जनाएको छ । पेट्रोल बम प्रहारबाट ट्रक अनियन्त्रित भइ सडकबाट अन्दाजी ५ मिटर तल खसेर आगो लागेको थियो । घटनामा ट्रक चालक तनहुँको ब्यास नगरपालिका ४ बस्ने ३३ वर्षीय अमर विक घाइते भएका छन् । उनको ढाड र अनुहार जलेको छ । उनको स्थानीय मनकामना पोलिक्लिनिकमा उपचार भइरहेको छ । सहचालकको अवस्था भने सामान्य छ ।

यसैगरी कावासोती नगरपालिका–१६ पत्थरखोला पुल नजिकै सोमबार बिहान करिब साढे ३ बजेतिर गुडिरहेको बा ३ च ९३ नम्बरको जिपमा पनि पेट्रोल बम प्रहार भएको छ । खाली जिपमा भएको पेट्रोल बम प्रहारबाट जिपमा राखिएको त्रिपाल पूर्णरुपमा जलेको छ ।

यसैगरी नवलपुरकै बुलिङटार गाउँपालिका अध्यक्षको घर नजिक सिलिण्डर विष्फोट गराउने प्रयास असफल भएको छ । गाउँपालिका अध्यक्ष शशीकिरण बास्ताकोटीको घरभन्दा करिब ३०० मिटर पूर्व श्रीधर गिरीको खेतमा सिलिण्डर विष्फोट गराउने प्रयास गरिएको थियो । खेतमा मोटरसाइकलको टायर र दाउरा बालेर सिलिण्डर बिष्फोट गराउन खोजिएको तर सिलिण्डरको क्यापबाट ग्यास लिक भएर नपड्किएको प्रहरीले जनाएको छ ।

बिप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दमा मकवानपुरमा दुई सवारीसाधनमा आगजनी गरिएको छ। त्रिभुवन राजपथ अन्तर्गत हेटौंडा – १ चौकिटोलमा गएराती करिब एक बजे ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी गरिएको छ । आगजनीबाट गाडीको सबै भाग जलेको छ।

मकवानपुरको उत्तरी थाहा नगरपालिका वडा नम्बर १ खानीगाउँमा ना ६ ख ८००७ नम्बरको आईचर गाडी सोमबार बिहान करिब ४ बजे जलाइएको अवस्थामा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ।

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले पूर्वी सुर्खेतको गोचेखोलामा आइतबार राति साढे एक बजेतिर ना २ ख ७४४४ नम्बरको यात्रु बसमा आगजनी गरेको छ । गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको त्यस बसका स्टाफ र सबै यात्रुहरुलाई ओरालेर आगजनी गरेका थिए । आगजनीबाट बस पूर्णरुपमा जलेर क्षतिग्रस्त भएको छ ।

यसैबीच पोखराबाट प्राप्त जानकारी अनुसार, पोखराको सिर्जनाचोक स्थित एनसेल अफिसको आडमा प्रेसर कुकर बम भेटिएको छ । त्यस्तै पोखरा नयाँबजार र न्यूरोडको बीच भाग आईडिया कलेजको अगाडी पनि बम भेटिएको छ । कास्कीकै अन्नपूर्ण गाउँपालिकाको ढिकुरपोखरी नजिक नाउँडाँडामा पनि शंकास्पद बस्तु भेटिएको कास्की प्रहरी प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।  शंकास्पद बस्तु भेटिएपछि सेनाको टोलिले  शंकास्पद बस्तु निस्क्रिय गर्दै छ छ ।

प्रतिक्रिया