घाँस काट्न गएका दुई महिलालाई बलात्कार गरेको आरोप लागेपछि प्रहरीले दुई जना प्रहरी जवानलाई पक्राउ गरेर हिरासतमा राखी कारबाही शुरु गरेको छ ।
हाल जिल्ला प्रहरी कार्यालय, नवलपरासीको हिरासतमा रहेका आरोपित दुई प्रहरी जवानहरुमा पश्चिम नवलपरासीको सुनवलमा रहेको दङ्गा नियन्त्रण प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान प्रेम खड्का र पाटेश्वर यादव रहेका छन् l उनीहरुले गत वैशाख १ गते स्थानीय १७ वर्षीया किशोरी र २६ वर्षीया महिलालाई बलात्कार गरेको आरोप स्थानीयले लगाएका छन् ।
घटनालगत्तै पीडितले मुख नखोलेर केही दिनपछि मात्रै यसबारे प्रहरीकोमा उजुरी गरेका थिए । प्रहरीमाथि कारवाही माग गर्दै स्थानीयले प्रदर्शन गरेपपिछि उनीहरुलाई निलम्बन गरी कारबाही शुरु गरिएको हो ।
स्थानीयले घटना सतहमा आएलगत्तै रक्षक नै भक्षक भएको भन्दै प्रहरी जवानद्वयमाथि कारवाही माग गरेर प्रदर्शन थालेका छन् ।
प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बलात्कार आरोपित दुवै जवानलाई जबर्जस्ती करणीमा मुद्दा प्रक्रिया अघि बढाइएको बताए ।