प्रहरीका पुर्व उच्च अधिकारीहरुका घरमा चोरी गरेर सिंगो प्रहरी संगठनलाई चुनौती दिने गुण्डा नाईके काले भनेर चिनिने विष्णु तामाङलाई प्रहरीले गोलि हानि घाइते बनाएर पक्राउ गरेको छ ।
प्रहरीले काठमाडौंको टोखाबाट गोली हानेर गुण्डा नाईके सिन्धुपाल्चोकको मेलम्ची घर भएका तामाङलाई पक्राउ गरेको हो । तामाङले पूर्वएआईजी जयबहादुर चन्द र पूर्व डिआईजी विश्वराज सिंह शाहीको घरमा समेत डकैती गरेका थिए ।
प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका तामाङलाई सोमबार बिहान प्रहरीको टोलीले टोखामा पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै आक्रमण प्रयास गरेपछि गोली हानेर पक्राउ गर्नु परेको महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख सहकुल थापाले जानकारी दिए । थापाका अनुसार उनको दायाँ खुट्टाको घुँडा मुनि गोली लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
सिन्धुपाल्चोकको मेलम्ची घर भएका तामाङमाथि ६ वटा अपराधका घटनालाई लिएर खोजी भइरहेको थियो । उनी ६ वर्ष कैद भुक्तान गरेर २०७२ सालमा रिहा भएका थिए । जेल सजायँपछि पनि उनी अपराधमै संलग्न रहेको प्रहरीको भनाइ छ ।