अखिल (क्रान्तिकारी)का अध्यक्ष तथा कानुन व्यावसायी चिरन्जीवी ढकाल रिहा भएका छन् । गत वैशाख २७ गते शुक्रवार ११ बिद्यार्थी संगठनको संयुक्त पत्रकार सम्मेलनबाट गिरफ्तार अध्यक्ष ढकाल रिहा भएका हुन् ।
आज शुक्रवार काठमाडौ जिल्ला अदालतले थुनछेकको बहसपछि ढकाललाई साधारण तारेखमा रिहा गरेको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश मोहनराज भट्टराईको इजलासले उनलाई रिहा गर्न आदेश दिएको थियो ।
तर, प्रहरीले उनलाई अदालतको गेटबाटै पक्राउ गर्न खोजेपछि झडप भयो, अधिवक्ता कान्ति ढुंगानाले भने ।
प्रहरीले ढकाललाई पुनः पक्राउ गर्न खोजेपछि कानुन व्यावसायीले पक्राउ गर्नुपर्ने कारणसहितको पक्राउ पूर्जी दिएर मात्रै पक्राउ गर्न भन्दै माग राखेपछि प्रहरीले धरपकड गरेको थियो। सो क्रममा ४ जना कानुन व्यवसायी घाइते भएका अधिवक्ता चन्द्र गुरागाईंले बताए। प्रहरी र कानुन व्यावसायीबीच केहिबेरा धकेला धकेल समेत भएको थियो । कानुन व्यावसायीको बिरोधकाबीच प्रहरीले उनलाई पुन गिरफ्तार गरेको थियो ।
राजनीतिक आस्था र विचारका आधारमा कसैलाई पनि पक्राउ गर्न नपाइने आदेशमा उल्लेख छ । प्रहरीले ढकालविरुद्धको मुद्दा बिहीबार अदालतमा दर्ता गरेको थियो। शुक्रबार थुनछेकसम्बन्धी बहस भएको हो ।
बिद्यार्थी नेता तथा अधिवक्ता ढकालको पक्षमा नेपाल बार एसोसिएसनका उपाध्यक्ष इश्वरीप्रसाद भट्टराई, महासचिव लिलामणि पौडेल, वरिष्ठ अधिवक्ता एकराज भण्डारी, नेपाल वार एसोसिएसनका सदस्य तथा अधिवक्ता भिमसेन बन्जाडा, अधिवक्ता कपिलचन्द्र पोख्रेल , अधिवक्ता कान्ति ढुंगानालगायत १६ जनाले बहस गरेका थिए।
त्यसअघि ढकाललाई गैरन्यायीक रुपमा गिरफ्तार गरेको भन्दै रिहा गर्न माग गर्दै वैशाख ३१ गते ११ बिद्यार्थी संगठनका तर्फबाट मंगलवार गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र)अखिल क्रान्तिकारी)का कोषाध्यक्ष बिनोद सुनामले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षिकरणको मुद्धामा सुनुवाई गर्दै सर्वोच्चले जिल्ला अदालतमा मुद्धा दाय भईसकेको भन्दै आदेश जारी गरेपछि जिल्ला अदालतले बहसपछि साधारण तारेखमा रिहा गरेको हो ।
अदालतले रिहा गरेपछि उनलाई प्रहरीले पुनः पक्राउ गरि महानगरिय प्रहरी परिसर टेकु पुर्याएको थियो । टेकुबाट ढकाललाई परिवारको जिम्मा लगाई छाडेको गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष आलोक रायमाझिले जानकारी दिए ।
अनामनगरस्थित युनियन हाउसमा वैशाख २७ गते शुक्रबार बिहान ११ बजे अखिल (क्रान्तिकारी)सहित ११ विद्यार्थी संगठनले नीजि विद्यालयहरुले ४० प्रतिशतसम्म बढाएकाविरुद्ध लगायत विषयमा पत्रकार सम्मेलन गरिरहेको बेला सिंहदरबार प्रहरी वृत्तबाट डीएसपी काजीकुमार आचार्यको नेतृत्व आएको टोलीले हस्तक्षेप गरेर ढकाललाई गिरफ्तार गरेको थियो ।
लामो समयदेखि बिद्यार्थीको हक अधिकार तथा शैक्षिक क्षेत्रमा देखिएका बिकृतिका बिरुद्ध बिद्यार्थी नेताको हैसियतमा क्रियाशिल ढकाल अधिवक्ता समेत हुन् । उनी नेपाल वार एसोसिएसन ललितपुरका कार्यसमिति सदस्य छन् ।
ढकालको रिहाइको माग गर्दै नेपाल विद्यार्थी संघ, नेकपा (क्रान्तिकारी माओवादी)निकट अखिल (क्रान्तिकारी) , गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र)निकट अखिल (क्रान्तिकारी), अनेरास्ववियू (पाँचौं), नयाँ शक्ति विद्यार्थी युनियन , अखिल नेपाल विद्यार्थी युनियन, राष्टिय विद्यार्थी संघ, समाजवादी विद्यार्थी फोरम नेपाल, राष्टवादी विद्यार्थी संघ, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ आन्दोलित बनेका थिए ।