आउँदा–जाँदासमेत राजश्व तिर्नु परेपछि वाक्क बनेका स्थानीय बासिन्दाले पूर्व पश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौलीमा रहेको सडक बोर्डको कर उठाउने ढाँटमा आगो लगाएका छन् । आगलागीबाट ढाँटमा रकम सङ्कलन गर्न कर्मचारी बस्ने गरेको काउण्टर पूर्णरुपमा क्षति भएको छ ।
बिहान ११ बजेको समयमा ३०/४० जनाको समूहले पेट्रोल छर्किएर ढाँटमा आगो लगाएका थिए । आगो लगाउने समूहको नेतृत्व चितवन क्षेत्र नं १ (ख) का प्रदेशसभा सदस्य कृष्ण खनालले गरेका प्रहरीले जनाएको छ । खनालले भने आफू घटना हुँदा सो स्थलमा भए पनि आफ्नो नेतृत्वमा आगो लगाउने काम नभएको प्रतिक्रिया दिएका छन् । प्रहरी प्रशासनले ठेकेदारसँग आर्थिक प्रलोभनमा परी त्यहाँ ढाट राख्न दिएको भन्दै अब तत्काल ढाट नहटाए स्थानीयवासीले सहेर नबस्ने खनालले बताए । उनले ढाटलाई सीमा क्षेत्रमा लैजानुपर्ने बताए।

ढाँटमा आगो लगाईएपछी आगो नियन्त्रणको प्रयास गर्दा त्यहीँ कार्यरत प्रहरी सहायक निरीक्षक (असई) कल्पना खड्का घाइते भएकी छिन ।
प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहका अनुसार, खड्काको हात, खुट्टा, शरीर र टाउकोमा आगोले पोलेको छ । गम्भीर अवस्थामा रहेकी खड्काको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । ढाटमा आगो लगाएको आरोपमा प्रहरीले रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीलाई पक्राउ गरेको छ ।
पूर्वी चितवनवासीले यसअघि नै सो ठाउँबाट ढाँट हटाउन स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाएका थिए । आफ्नै सदरमुकाम आउँदा–जाँदासमेत राजश्व तिर्नु परेपछि पूर्वी चितवनवासी आन्दोलित थिए ।