भाईद्वारा दाजु फारुकको गोली हानी हत्या, भाई सेराजुद्धिन पेस्तोल र गोलीसहित पक्राउ

भाईद्वारा दाजु फारुकको गोली हानी हत्या, भाई सेराजुद्धिन पेस्तोल र गोलीसहित पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३ जेष्ठ २०७६
  • 6K
    Shares

आफ्नै भाइले हानेको पेस्तोलको गोली लागेर पर्सा जिल्ला जिराभवानी गाउँपालिकाका ४८ वर्षीय शेष फारुकको मृत्यु भएको छ । घरायसी विवाद हुँदा जिराभवानी-१ महादेवपट्टीको बलुवाका शेषलाई उनका कान्छा भाइ ३८ वर्षीय शेख सेराजुद्धिन पेस्तोलले हानेका थिए ।

छातीमा गोली लागेका शेषलाई वीरगञ्जको नारायणी अस्पतालमा प्रारम्भिक उपचारपछि वीरगञ्जकै नेशनल मेडिकल कलेजमा रेफर गरिएको थियो । त्यहाँ पनि उपचार सम्भव नहुने भएपछि काठमाडौं लैजाने क्रममा शुक्रबार बिहान ३ बजेतिर उनको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक आषिश अधिकारीका अनुसार, हाल जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएका भाइ सेराजुद्धिनको साथबाट नल कटुवा पेस्तोल १ थान, त्यसमा लाग्ने रिफिल गोली ३ थान र एउटा खोका बरामद भएको छ ।

घरायसी विवादले उग्र रुप लिंदा भाईले दाजुलाई गोली हानेको बताइए पनि के कारण घरायसी बिबाद  भएको हो भन्ने बारेमा  थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।

प्रतिक्रिया