विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटअखिल (क्रान्तिकारी)ले आफ्नो सङ्गठनका अध्यक्ष चिरञ्जीवी ढकाल गिरफ्तारीको विरोधस्वरूप आगामी जेठ ५ गते देशव्यापी आम शैक्षिक हड्तालको घोषणा गरेको छ । अध्यक्ष ढकालको रिहाइको लागि सङ्गठनका उपाध्यक्ष रुद्र भट्टराईले शुक्रबार प्रेस विज्ञप्ति जारी गरेर सार्वजनिक गरेको चरणवद्ध सङ्घर्षका कार्यक्रमहरु अन्तर्गत आगामी जेठ ५ गते देशव्यापी आम शैक्षिक हड्तालको घोषणा गरिएको हो ।
अखिल (क्रान्तिकारी)ले सार्वजनिक गरेका कार्यक्रमहरुमा बैशाख २९ गते देशभर विरोधसभा, जेठ १ गते विरोध प्रदर्शन, जेठ ४ गते मशाल जुलुस र ५ गते आम शैक्षिक हड्ताल रहेका छन् ।
यसअघि ११ विद्यार्थी सङ्गठनहरुले पनि ढकालको रिहाइको लागि २४ घण्टे अल्टिमेटम दिएको थियो । रिहाइ नगरे देशव्यपी सङ्घर्षका कार्यक्रम घोषणा गर्ने ११ विद्यार्थी नेताहरुले संयुक्त विज्ञप्तिमार्फत बताएका छन् ।
शुक्रबार प्रहरीले पत्रकार सम्मेलनबाटै सङ्गठनका अध्यक्ष चिरञ्जीवी ढकाललाई गिरफ्तार गरेको थियो ।