आफुहरुले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनबाट आफूहरुकै अगाडी गिरफ्तार गरिएका अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवि ढकालको रिहाईका लागि ११ विद्यार्थी संगठनहरुले सरकारलाई २४ घन्टे अल्टिमेटम दिएका छन् । उनीहरुले शुक्रबार साँझ संयुक्त विज्ञप्ति निकालेर सरकारलाई २४ घन्टे अल्टिमेटम दिएका हुन् ।
यसरी सरकारलाई २४ घन्टे अल्टिमेटम दिएर संयुक्त विज्ञप्ति जारी गर्ने बिद्यार्थी संगठनहरुमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका ऋषिकेशजंग शाह, ने.क.पा. निकट अखिल (क्रान्तिकारी)का महासचिव प्रकाश शाहि, नेकपा (क्रान्तिकारी माओवादी)निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल, गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष आलोक रायमाझी, अनेरास्ववियू (पाँचौं)का अध्यक्ष घनश्याम मिश्र, नयाँ शक्ति विद्यार्थी युनियनका अध्यक्ष श्यामबाबु गौतम, अखिल नेपाल विद्यार्थी युनियनका प्रमुख प्रविण मिश्र, राष्टिय विद्यार्थी संघका महासचिव रन्जित निष्पक्ष, समाजवादी विद्यार्थी फोरम नेपालका अध्यक्ष विवेक राई, राष्टवादी विद्यार्थी संघका संयाेजक अनुप लामिछाने, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघका अध्यक्ष दुजांग शेर्पा रहेका छन् ।
उनीहरूले गिरफ्तार गरिएका ढकाललाइ २४ घण्टाभित्र रिहा नगरिए सशक्त संघर्षमा जाने चेतावनी पनि सोही विज्ञप्तिमार्फत दिएका छन् ।

सरकारले पञ्चायतकालको झझल्को दिने गरी विद्यार्थी संगठनका राजनैतिक तथा शैक्षिक गतिविधिमा प्रतिबन्ध लगाएको भन्दै उनीहरुले आफ्नो विज्ञप्तिमा “‘पञ्चायतकालमासमेत सरकारले विद्यार्थी संगठनका राजनीतिक एवं शैक्षिक गतिविधिमाथि प्रतिबन्ध गरेको थिएन, केपी ओली नेतृत्वको सरकारले फाँसीवादी शैलीमा गैरन्यायिक तवरले अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवि ढकाललाई पत्रकार सम्मेलन गरिरहेकै स्थान युनियन हाउसबाट प्रहरीले गिरफ्तार गर्नुले सरकारको तानाशाही प्रवृत्ति स्पष्ट हुन्छ । सो कार्यको ११ विद्यार्थी संगठन घोर विरोध एवं भत्सर्ना गर्दछ ।’ भनेका छन् । साथै, सरकारका यस्ता गतिविधिविरुद्ध संघर्षमा उत्रिन उनीहरुले विद्यार्थीहरुलाई अपिलसमेत गरेका छन् ।