नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटी तनहुँका दुई जना जिल्ला कमिटी सदस्यलाई प्रहरीले मंगलबार गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेमा तनहुँको बन्दीपुर गाउँपालिका वडा नं १ नाहाला बस्ने ६६ वर्षीय शिवशङ्कर अधिकारी र व्यास नगरपालिका वडा नं ७ सत्रसय बस्ने ४१ वर्षीय विवेक भन्ने टेकबहादुर विक रहेका छन् ।
उनीहरुलाई भानु नगरपालिका वडा नं २ आमबोटेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । पक्राउपर्नेमध्ये अधिकारी नेपाल कम्युनिष्ट पार्टीद्वारा गठित जनसरकार प्रमुख समेत हुन् भने विक दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य पनि हुन् । गिरफ्तार परेका विरुद्ध तनहुँ जिल्ला अदालतबाट राजद्रोह मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
यसैबीच नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटी तनहुँका ईन्चार्ज उवारले पार्टी कामको सिलसिलामा नि:शस्त्र तरीकाले जनभेटघाट गरिरहेका बेला आफ्नो पार्टीको दुई नेताहरुलाई गिरफ्तार गरिएकोमा आपत्ति प्रकट गरेका छन् । जनसंचार डट कमसंग कुराकानी गर्दै उनले आफ्नो पार्टीका नेता गिरफ्तारीप्रति आपत्ति प्रकट गरेका हुन् । उनले विना हातहतियार भेला भै आफ्ना कुरा जनतामाझ राख्न पाउने संबैधानिक अधिकारको हनन गर्दै गैरकानुनी रुपमा गिरफ्तार नेताहरुलाई अविलम्व रिहाईको माग गरे ।