युवतीलाई झुक्याएर बसमा तौलिहवा पुर्याउने दुई जनालाई प्रहरीले कागज गराई शंकास्पदरुपमा छाड्यो

युवतीलाई झुक्याएर बसमा तौलिहवा पुर्याउने दुई जनालाई प्रहरीले कागज गराई शंकास्पदरुपमा छाड्यो


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २३ बैशाख २०७६
  • 7.1K
    Shares

लु १ ख ३९४९

पोखराबाट नारायणगढ जान हिंडेकी एक युवतीलाई बिहीबार साँझ झुक्क्याएर कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा पुरयाउने दुई जना बसका कर्मचारीलाई प्रहरीले कागज गराई शंकास्पदरुपमा छाडेको छ ।

पोखरा – तौलिहवा चल्नेलु १ ख ३९४९ नम्बरका बस चालक स्याङजाको गल्याङ नगरपालिका– ७ का बुद्ध बहादुर बिक र वडा नम्बर ९ तल्लो गल्याङ– ९ का सह चालक छबीलाल भट्टराईलाई प्रहरीले कागज गराई शंकास्पदरुपमा छाडेको हो ।

नारायणगढ जान पोखराबाट बिहीबार बिहान तौलिहवाका लागि छुटेको लु १ ख ३९४९ नम्बरको  बस चढेकी  मगर थरकी लम्जुङ जिल्लाको बेसीशहरकी १७ वर्षीया युवतीलाई उनीहरुले झुक्क्याएर तौलिहवा पुर्याएका थिए ।

सो बस राती करिब ८ बजेतिर तौलिहवा बसपार्क पुगेकोमा गलत मनसायले ती युवतीलाई ल्याएको भन्दै वडा प्रहरी कार्यालय तौलिहवाले दुवैजनालाई बिहीबार राति १०ः ३० बजेतिर तौलिहवाको भिक्षु चोकबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा पठाएको जनाईएको छ । तर गलत मनसायले ती युवतीलाई ल्याएको आरोप लागेका उनीहरुलाई अनुसन्धान गरी कानुनी कारबाही बढाउनुको साटो प्रहरीले शुक्रवार दिउँसो चालक र सह चालक दुबैलाई पश्चिम नेपाल बस व्यवसायी समितिको कर्मचारी अकब अलि रंगरेजको जिम्मामा छाडेको प्राप्त समाचारमा जनाइएको छ । घटनापछि निकै त्रसित रहेकी ती युवतीलाई जिल्ला प्रहरी कार्यालय अन्तरगतको महिला तथा बालबालिका सेलमा राखिएको बताइएको छ ।  युवतीको आफन्त कोही नभएको भन्दै प्रहरीले ती युवतीलाई साथी संस्थाको आश्रय गृहमा पठाउने बताएको छ ।

प्राप्त जानकारी अनुसार, राती करीब ८ बजे तौलीहवा बसपार्क पुगेका उनीहरुले साढे नौ बजेतिर तौलिहवाको बस पार्कमा रहेको न्यु छपिया होटेलमा कोठा बुक गर्न गएका थिए । होटेलका मालिक गोपाल खरेलले उनीहरूसँग केटी देखेपछि कोठा दिएनन् । होटेलको कोठा बुक गर्ने बारेमा कुराकानी भईरहेका बेला  ती युवती उम्किएर एक जना स्थानीय महिलाको सहयोगमा वडा प्रहरी कार्यालय तौलिहवामा मौखिक उजुरी दिन पुगेकी थिइन  । आफूहरुविरुद्ध प्रहरीमा उजुरी परेको छाल पाएपछि उनीहरुले आफ्नो बस लिएर भाग्ने प्रयास गरेका थिए । तर प्रहरीले उनीहरूलाई पिछा गदैै तौलिहवा भिक्षु चोकमा पक्राउ गरेको वडा प्रहरी कार्यालयका प्रमुख सन्त कुमार पछाईले जानकारी दिए  । छपिया होटेलमा कोठा नपाएपछि युवतीलाई ललिपप जस्तो देखिने कुरा समेत खुवाउन खोजिएको र युवतीले खान इन्कार गरेको युवतीले आफूलाई जानकारी गराएको उनले बताए ।

उता चालक र सह चालकले युवती आफुहरुसँग सहमति मै आएको प्रहरीलाई बयान दिएको प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेयले बताए । चालक र सह चालको त्यसमा कुनै गतल मनसाय नखिएकाले कागज गराई छाडिएको प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेयको दाबी छ ।

महिला अधिकारकर्मी माधुरी श्रेष्ठले नारायणघाट जाने युवतीलाई तौलिहवा ल्याउनु, प्रहरीलाई खबर गरे पछि भाग्नुले पनि चालक र सह चालकको नियत ठिक नभएको प्रस्ट हुँदा समेत प्रहरीले दुबैलाई छाड्नु गलत भएको बताइन ।

जानकारी नै नदिई गलत मनशायले अर्को ठाउँमा पुर्याइएको अवस्थामा प्रहरीले जबरजस्ती करणी वा अपरहणको मुद्दा चलाउन सक्ने कानुन व्यवसायीहरु बताउंछन् । प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोख्रेलले सो घटना बारे जानकारी लिने बताए ।

प्रतिक्रिया