विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गोरखा जिल्ला इन्चार्ज योगेन्द्र कुमाल र सेक्रेटरी कपिल भट्टलाई प्रहरीले गिरफ्तार गरेको छ। उनीहरूलाई पालुङटार नगरपालिका वडा नं. ७ को खोलाघाटस्थित फरक फरक ठाउँबाट पकाउ गरिएको बताइएकाे छ।
आइतबार साँझ छ बजे ने.क.पा.जिल्ला इन्चार्ज योगेन्द्र कुमाल र सेक्रेटरी कपिल भट्टलाई पक्राउ गरिएको र दुबैजनालाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको गोरखाका जिल्ला प्रहरी प्रमुख एसपी भोला रावलले जानकारी दिए। प्रहरी चौकी च्याङ्लीबाट खटिएका प्रहरीले उनीहरूलाई पक्राउ गरेको हाे।
यसैबीच प्राप्त जानकारी अनुसार,नेपाल कम्युनिस्ट पार्टी को भातृ संगठन अखिल (क्रान्तिकारी) रुकुम पश्चिमका उपाध्यक्ष प्रेम प्रशान्त बोहरा पक्राउ परेका छन् । उनलाई विहिवार कक्षा १२ को परिक्षा दिईरहेकै अवस्थामा परिक्षा हलवाटै गिरफ्तार गरिएको अखिल (क्रान्तिकारी) पश्चिम रुकुमले जनाएको छ । संगठनका जिल्ला अध्यक्ष सुरेन्द्र वस्नेतले विज्ञप्ती जारी गरी आफ्ना गिरफ्तार विद्यार्थी नेताको रिहाईको माग गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार प्रतिबन्धित नेकपा पार्टीको गतिविधिमा संलग्न आशंकामा उनलाई पक्राउ गरिएको हो ।
बोहरालाई सार्वजनिक अपराध कसुरमा मुद्दा चलाएर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । केही समयअघि मात्र विद्यार्थी नेता हरि पुन सहित दुईजना पक्राउ परेका थिए । उनीहरूलाई केहि समय हिरासतमा राखेर अनुसन्धान गरिए पनि हाल छोडिसकिएको जानकारी दिएको छ ।
रुकुममा विप्लव नेतृत्वका विद्यार्थी नेताहरू पक्राउ परे पनि पार्टीका कुनै पनि उच्च नेतृत्वहरू भने पक्राउ परेका छैनन्।