प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी नै नदिई प्रधानमन्त्रीको सचिवालयले राष्ट्रिय योजना आयोगलाई योजनाहरुको माग गरी लेखेको पत्रप्रति प्रधानमन्त्री केपी शर्मा ओली “आश्चर्यचकित र दुखित” बनेको प्रेस वक्तव्य सार्वजनिक भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले शुक्रबार एक विज्ञप्तिमार्फत आफ्नो सचिवालयको लेटरप्याड प्रयोग गरेर राष्ट्रिय योजना आयोगलाई पत्रचार गरिएकोमा प्रधानमन्त्री ओली आश्चार्यचकित भएको उल्लेख गरेका छन् ।
झापा क्षेत्र नम्बर ५ का योजनाहरु आगामी बजेटमा समावेश गर्न भन्दै प्रधानमन्त्रीको सचिवालयले राष्ट्रिय योजना आयोगलाई पत्र पठाएको थियो । तर, यो पत्रबारे स्वयं प्रधानमन्त्री ओली जानकार नभएको अर्यालको दाबी छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार अर्यालले यो पत्र निजी सचिवालयले प्रधानमन्त्रीलाई जानकारी नदिई भूलबश योजना आयोगमा पठाएको दाबी गरेका छन् । अर्यालले शुक्रबार विज्ञप्ति जारी गर्दै सांसद सम्पर्क कार्यालय (झापा) मा संकलन गरिएको आयोजनाहरुको सूची प्रधानमन्त्रीको निर्देशन बेगर निजी सचिवालयबाट ‘भूलबश’ योजना आयोगमा पठाइएको बताएका छन् ।

प्रेस सल्लाहकार अर्यालको स्पष्टीकरणले थप प्रश्न उठाएको छ, के प्रधानमन्त्रीको सचिवालयबाट लेटर प्याडको दुरुपयोग भइरहेको हो ? स्मरणीय के छ भने योजना आयोगलाई पत्र सांसद केपी ओलीको सचिवालयले होइन, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पठाएको छ । यसमा पत्र संख्या र चलानी नम्बर मात्र उल्लेख छैन, प्रधानमन्त्री कार्यालयका सहसचिव विनोदबहादुर कुँवरले हस्ताक्षर गरेका छन् । पत्रमा प्रम कार्यालयको छाप समेत लगाइएको छ ।
यदि अर्यालले दाबी गरेको जस्तै प्रधानमन्त्रीको निर्देशन बेगर नै यो पत्र काटिएको हो भने यसअघि काटिएका पत्रहरु पनि यस्तै पो थिए कि ? यदि प्रधानमन्त्रीको जानकारी बेगर यो काम गरिएको हो भने अब प्रधानमन्त्रीको जानकारी बेगर लेटरप्याड र सरकारी छाप प्रयोग गर्नेमाथि कीर्तेको आरोपमा कारवाही होला त ? यो अर्को प्रश्न हो ।
जे होस्, झापा जिल्लालाई लक्षित गरेर राष्ट्रिय योजना आयोगलाई पत्र लेख्नु नाजायज र औचित्यहीन भएको प्रधानमन्त्री केपी ओलीको सचिवायलले स्वीकार गरेको छ, यो चाहिँ सकारात्मक पहल नै हो ।
यसैबीच, प्रधानमन्त्रीलाई जानकारी नै नदिईकन पत्राचार गरिएकोमा त्यसको चौतर्फी बिरोध भएको छ । आफुलाई जानकारी नै नदिई आफ्नो सचिवालयबाट पत्राचार हुँदा प्रधानमन्त्री लजास्पद हुनपर्नेमा दुखित र आश्चर्यचकित भएको भन्दै प्रधानमन्त्रीप्रति तिखो टिप्पणी गरिएका छन् । यस्तो टिप्पणी गर्ने मध्येका एक हुन् वाम विश्लेषक सौरभ, उनले आफ्नो टिप्पणीमा आघि भनेका छन्, “आश्चर्यचकित र दुखित हुनपर्ने त हामी जनता पो| प्रधानमन्त्री त लजास्पद हुनपर्ने हैन र? खोई के कार्वाही गरिने हो? त्यती लामो फेहरिस्त प्रधान मन्त्रीसँग सल्लाह नगरी राखेको हुन्सक्ने पत्यार गर्न सकिदैन| त्यसो हो भने अरु पनि प्रधान मन्त्रिको नाउमा सचिवालयले त्यस्तै अनधीक्रीत कार्य गरिरहेका होलान| प्रधान मन्त्रिको कार्यालय र सल्लाहकारहरु बेकामे रहेछन भन्ने पहिले पनि थाहा भएकै हो अब प्रमाणित भयो| चिनाजाना, नातागोता र पार्टीभक्त मात्र थुपारे पछी यस्तै परिणाम आउछ| त्यसै त सरकार पूर्ण असफल भई सक्यो, ब्यक्ति मात्र सफल भए भनिराका थिए अब पाए थप अस्त्र डा। सुरेन्द्र केसी, बालकृष्ण न्यौपाने र भरत दाहाल जस्ताले| प्रधानमन्त्री र मन्त्री अनी पहुँचवालाको जिल्लाको लागि मात्र काम गर्ने अरु नेपालीलाई वास्ता नगरने? यस्तो विभेदकारी सोचाई र गराईले कसरी हुन्छ तब सम्पूर्ण बिकाश? अहिले खुल्लामा आए पछी प्रधान मन्त्रिले आफु उम्क्न दोष आफ्नो सचिवालयलाई सरेका हुन|”
यसबीच प्रधानमन्त्रीको सचिवालय टीममा प्रेस सल्लाहकारको भूमिका निर्वाह गर्दै आएका अर्यालले पत्रको सान्दर्भिकता नरहेको बताए पनि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले पत्र सार्वजनिक हुनासाथ राष्ट्रिय योजना आयोगका उच्च अधिकारीलाई फोन गरेर पत्र किन सार्वजनिक गरेको भन्दै धम्की दिएको स्रोतलाई उल्लेख गर्दै अनलाइनखबरले समाचार लेखेको छ ।