जनप्रतिनिधि समेत रहेकी विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष पार्वती पुर्जा (मगर)को घरमा विद्यालय सञ्चालनकै विषयमा स्थानीय अगुवासँग छलफल गरिरहेका वेला धवलागिरि गाउँपालिका–५ भेडिखाल्टास्थित जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक रेशमबहादुर विश्वकर्मामाथि कुटपिट भएको छ ।
‘दलित भएर मगरको घरभित्र पस्ने’ भन्दै स्थानीय बलबहादुर रोका र जितेन्द्र जुग्जालीले उनलाई कुटेका हुन् । उनको देब्रे खुट्टाको दुईवटा औँला र पैताला जोड्ने हड्डी भाँचिएको छ । उनले मणिपाल अस्पतालमा उपचार गराएका छन् ।
वडा सदस्यसमेत रहेकी विद्यालय व्यवस्थापन समिति अध्यक्ष पुर्जाले पनि आफ्नो घरमा विद्यालयको छलफलका क्रममा प्रअ विश्वकर्मा कुटिएको बताइन् । ‘लतारेर आँगनमा ल्याए, आँगनको डिलबाट पाँच मिटर तल कान्लामा खसाले,’ पिडित रेशमले भने ।
वैशाखको ५ गते कुटपिटबाट घाइते प्रअ उपचारका लागि लगत्तै पोखरा गएपनि उनले जिल्ला प्रहरी कार्यालयमा भने छोरा दिप्सनमार्फत दुवै आरोपीविरुद्ध ७ वैशाखमै किटानी जाहेरी दिएका थिए । तर, १५ वैशाखमा मात्रै उजुरी दर्ता भएको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्रप्रसाद मरासिनीले आफु बिदामा रहेकाले तत्काल जाहेरी दर्ता नभए पनि अनुसन्धान भने भएको दाबी गरेका छन् । तत्कालै जाहेरी दर्ता नभए पनि सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय दरवाङमार्फत बलबहादुर र जितेन्द्रविरुद्ध जिल्ला अदालतमा जातीय छुवाछुतसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरिएको डिएसपी मरासिनीले जानकारी दिए । डिएसपी मरासिनीका अनुसार पक्राउ पुर्जी जारी गरेर फरार आरोपीहरूको खोजी भइरहेको छ ।
जातीय छुवाछुतसम्बन्धी मुद्दामा एक वर्ष कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।