सिरियाको द्वन्द्वग्रस्त शहर एलेप्पोमा एक साता युद्धविराम गर्ने संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को मस्यौदा विरुद्ध रुस र चीनले भिटो प्रयोग गरेका छन् । यसअघि सो मस्यौदा पुन: मुल्यांकन गर्न दिने गरेको २४ घण्टाको समय समेत उपलब्ध नगरीकन सुरक्षा परिषद्को नियम उल्लंघन गरेको रुसको भनाई छ । यद्यपी अमेरिकाले भने सिरियाली सेनाले केही दिन अघि एलेप्पोमा गरेको सफलतालाई रुसले संरक्षण गर्न खोजेको दाबी गरेको छ ।
सुरक्षा परिषदको मस्यौदाबिरुद्ध ५ बर्ष यता रुसले यो छैठौ पटक आफ्नो भिटो प्रयोग गरेको हो । रुसले सिरियाली राष्ट्रपति बसर अल असदलाई समर्थन गर्दै आईएसविरुद्ध हवाई आक्रमण गर्दै आएको छ भने अमेरिकाले असाद विरुद्ध मध्यपन्थी विद्रोहीलाई सघाउँदै आएको छ ।
सिरियाली सेनाले आईएसको कब्जामा रहेको पूर्वी एलेप्पोको ७० प्रतिशत भूभागमाथि नियन्त्रण कायम गरेको दाबी गर्दै आएपनि जारी गहृयुद्धका कारण एलेप्पोमा मात्र अझै पनि लाखौ सर्वसाधारण फसिरहेको अत्यावश्यक सहयोगको आवश्यकतामा रहेको राष्ट्रसंघिय अधिकारकर्मीहरुले जनाएका छन् ।