जिल्ला अधिवेशनमा खटिएका नेपाली कांग्रेसका नेतामाथि गोली हान्ने अभियुक्तलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार हत्याका नाइके जनतान्त्रिक टाईगर जनशक्ति पार्टी नामको मधेसको भुमिगत संगठनका कमाण्डर अजय सिंह भनिने रामरिझन यादव रहेका छन् ।
नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि नसिम राईनलाई माघ २२ गते धनुषाको विरेन्द्र बजारमा गोली प्रहार गरि हत्या गरेको अभियोगमा कमाण्डर यादवसहित ७ जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेहरुमा धनुषा गणेशमान चारनाथ नगरपालिका–२ बस्ने ४२ बर्षीय जोगिन्द्र महतो, २२ बर्षीय नागे साह, २४ बर्षीय शुभ नारायण यादव, धनुषाधाम नगरपालिका–८ बस्ने ३५ बर्षीय प्रमोद कुमार पुर्वे, सिराहा मिर्चेया बस्ने २४ बर्षीय बेचन पासवान र सिराहा राजपुर–१ बस्ने ३५ बर्षीय जसलाल यादव रहेका छन् ।
धनुषा बालाबखर–४ बैरीया टोल स्थित सडकमा गत माघ २२ गते सोही ठाउँ बस्ने ५० बर्षीय राजेन्द्र प्रसाद यादबलाई उनीहरुले गोली प्रहार गरी हत्या गर्नुको साथै माघ २३ गते धनुषा गणेशमान चारनाथ नगरपालिका–४ स्थित वीरेन्द्र बजारमा ४५ बर्षीय नसिव मियाँ राईन र कमला नदीको पुलमा सिराहा बडहरामाल–३ बस्ने २५ बर्षीय राम सोगारथ महतोलाई गोली प्रहार गरी सख्त घाइते बनाई फरार रहेका थिए । उपचारका क्रममा राइनको मृत्यु भएको थियो ।
पक्राउ परेकाहरुमध्ये रामरिझन यादवमाथि ज्यान मार्ने उद्योग तथा बेचन र जसलाल माथि चन्दा ऐन २०२० अनुसार मुद्दा दर्ता गरि अदालतबाट म्याद थप भई अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।