काठमाण्डौको धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा सोमबार बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समितिको बैठकमा सहभागी स्थायी कमिटी सदस्यहरुले सरकार र पार्टी सञ्चालनको शैलीप्रति नेतृत्वको खुलेर आलोचना गरेका छन् ।
शनिबारदेखि जारी नेकपाको स्थायी कमिटी बैठकमा सोमबार आफ्नो धारणा राखेका १० स्थायी कमिटी सदस्यमध्ये अधिकांश नेताहरु नेतृत्व (अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड) विरुद्ध आक्रामक रुपमा प्रस्तुत भए ।
बैठकमा नेता वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, हरिवोल गजुरेल, अग्नी सापकोटा, शक्ति बस्नेत लगायत १० जना नेताहरुले बोलेका थिए । हरिवोल गजुरेलले भने लिखित ‘डकुमेन्ट’सहित सुझाव पेश गरेका थिए ।
बैठकमा पूर्वएमालेका नेताहरु जति ओलीप्रति आक्रामक थिए, पूर्वमाओवादी नेताहरु त्यति आक्रामक नदेखिएको स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले सुनाए ।
बैठकमा युवराज ज्ञवाली, मुकुन्द न्यौपाने गणेश साह, वेदुराम भुषाल र अष्ठलक्ष्मी शाक्य लगायतले पनि पार्टी नेतृत्वको कार्यशैलीको आलोचना गरेका थिए ।
संस्थापन इत्तर पक्षका नेता घनश्याम भुसालले सैद्धान्तिक र बैचारिक कुरा मात्रै राखेका छन् । उनले बुँदागतरुपमा आफ्नो सुझाव राख्दै अध्यक्षद्वय ओली र प्रचण्डका तर्फबाट पेश भएको राजनीतिक प्रतिवेदनमा केही पनि उल्लेख्य कुराहरु नभएको टिप्पणी गरेका थिए ।
भुसालको भनाइ थियो, ‘अध्यक्षको प्रतिवेदनमा केही पनि छैन । मूलतः यो राजनीतिक दस्तावेज नै होइन । आजका हाम्रा चुनौति र भोलिको हाम्रो बाटो के हुने भन्ने कुनै कुरा छैन । त्यसैले यसलाई समृद्ध बनाएर पुनर्लेखन गर्नुपर्छ ।’ बामदेवको प्रतिवेदनमा पनि नकारात्मक कुरा मात्रै रहेको र यसले पनि कुनै समाधान नदिने उनले बताए ।
नेता घनश्याम भुसालले पार्टीमा नश्लवाद हावी भएको भन्दै सरकार र नेतृत्वको कडा आलोचना गरे । उनले पार्टी नेतृत्वको कार्यशैली र व्यवहार सच्चिनुपर्नेमा जोड दिँदै त्यसो हुन नसके पार्टीलाई ठूलो नोक्सान पुग्ने खतरा औंल्याए ।
अर्का स्थायी कमिटी सदस्य बेदुराम भुसालले विधान अनुसार पार्टी सञ्चालन नभएको कुरालाई तथ्यसहित पेश गरेका थिए । विधानअनुसार तीन महिनामा स्थायी कमिटी बैठक बस्नुपर्नेमा ६ महिनामा बसेको भन्दै उनले नेतृत्वबाटै पटक-पटक विधान विपरीत काम भएको आरोप लगाएका छन् ।
प्रदेश इञ्चार्ज र अध्यक्ष चयन गर्दा विधानको धारा ४६ विपरीत मुख्यमन्त्री र इञ्चार्ज एकै व्यक्तिलाई दिएकाले सो निर्णय अवैधानिक भएको बेदुरामको भनाइ थियो । त्यस्तै प्रदेश कमिटी सदस्यहरु चयन गर्दा पार्टी सदस्य नै नभएका व्यक्तिहरुलाई विभिन्न पार्टीबाट प्रवेश गरेको भन्दै चयन गरिनु विधानविपरीत भएकाले बदर हुनुपर्ने उनले बैठकमा बताए ।
नेकपाको अन्तरिम विधान मस्यौदाकार मध्येका एक भुसालले सचिवालयले पटक-पटक विधानमा आफूखुसी थपघट गरेर बिगारेको भन्दै स्थायी कमिटीले विधान टुंगो लगाउनुपर्ने बताएका थिए ।
अर्का नेता अग्नि सापकोटाले शुरुमा पार्टी अध्यक्षको प्रतिवेदनको समर्थन गर्दै सरकारको आलोचना गरेका थिए । अर्का नेता हरिबोल गजुरेलले आफ्नो मत लिखितरुपमै राखेका थिए । गजुरेलले तत्कालीन एमाले र माओवादी दुबै पार्टी संकटमा थिए भन्दै संकटमोचनका लागि एकता गरेको दाबी गरे ।
अर्का नेता गणेश साहले आफू सानो पार्टी चलाएर आएको भन्दै ठूलो पार्टीभित्र विभिन्नखाले प्रवृत्ति देखिएको भन्दै व्यंग्य गरे । विधि विधानको मात्रै कुरा गर्ने एकथरी नेता र बिचारको कुरा गर्ने अर्काथरि नेता देखिएको भन्दै उनले आफूले विकास र विज्ञान प्रविधिको कुरा गर्न रुचाउने बताएका थिए ।
यस्तै नेता बामदेव गौतम आफैंले पूरक प्रस्तावको रुपमा बैठकमा पेस गरेको प्रतिवेदनको व्याख्यामा केन्द्रीत रहेका थिए । उनको प्रतिवेदनमा नेतृत्वको कडा आलोचनासहित पार्टीलाई गति दिन बुँदागत सुझाव दिइएको छ । बैठकमा बोल्ने पूर्वएमालेतर्फका नेताहरुमध्ये बामदेव गौतमले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई औंला ठड्याएरै चेतावनी दिएको बताइएको छ । बैठकमा लिखित रुपमै फरक मत पेश गरेका गौतमको सोमबारको प्रस्तुति आक्रोशले भरिएको थियो । तर, उनले प्रचण्डको भने खासै आलोचना गरेनन् । नेता गौतमले संविधानले दिने भए दुईवटा प्रधानमन्त्री बनाउनु हुन्थ्यो भन्ने केपी ओलीको भनाइप्रति आक्रोश व्यक्त गरे । उनले प्रधानमन्त्री र अध्यक्षजस्तो जिम्मेवारीमा बसेको व्यक्तिले मजाक गर्न नमिल्ने बताए ।
आजको बैठकमा ९ नेताहरु पार्टी नेतृत्व र सरकारको आलोचनामा एकमत हुँदा मन्त्रीसमेत रहेका नेता शक्ति बस्नेत भने बचाउमा देखिएका थिए । उनले पार्टी नेतृत्वको सरकारले विस्तारै बाटो लिँदै गरेको भन्दै यसैलाई लिएर आलोचना गरिहाल्नु हतार हुने धारणा राखेका थिए ।
बैठकमा बोल्ने नेताहरुले गौतमको पूरक प्रस्ताव समग्रमा सही भएपनि बढी नकारात्मक रहेको र सबै विषयलाई नकारात्मक रुपमा पनि लिन नहुने धारणा राखेका थिए ।
अर्को बैठक मंगलबार बिहान ८ देखि ११ बजेसम्म फेरि बस्ने छ ।