अमेरिका, फ्रान्स र बेलायतको सहकार्यमा सिरियामा हवाई हमला शुरू. हमलाको रुस, चीन, इरानद्वारा विरोध

अमेरिका, फ्रान्स र बेलायतको सहकार्यमा सिरियामा हवाई हमला शुरू. हमलाको रुस, चीन, इरानद्वारा विरोध


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १ बैशाख २०७५
  • 29.6K
    Shares

अमेरिका, संयुक्त अधिराज्य र फ्रान्सले सिरियामा संयुक्त रूपमा हवाई र क्षेप्यास्त्र आक्रमण गरेका छन्। यो कारबाही गत शनिवार सिरियाली सरकारले रासायनिक अस्त्र प्रयोग गरी गरेको भनिएको आक्रमणको प्रत्युत्तर भएको बताइएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले साझेदार राष्ट्रहरूले बर्बरता र क्रूरताविरुद्ध उचित शक्ति प्रयोगू गरेको टिप्पणी गरेका छन्।अमेरिकाका अनुसार दमास्कसमा रहेको एउटा अनुसन्धान केन्द्र र होम्सनजिकै रहेका दुई भण्डारण केन्द्र गरी तीन स्थानलाई लक्ष्य गरेर आक्रमण गरिएको थियो। रुसले अरू स्थानलाई पनि लक्षित गरी क्षेप्यास्त्र प्रहार भएका भए पनि अधिकांश क्षेप्यास्त्रहरू सिरियाली हवाई प्रतिरक्षा प्रणालीले छेकिदिएको बताएको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो साझेदार सिरियामाथि पश्चिमा देशहरूले गरेको हमलालाई एकदम गम्भीर रूपमा निन्दा गरेका छन्।यससंगै उनले राष्ट्रसंघको आपत्‌कालीन बैठक बोलाउन माग गरेका छन्। रुसको सरकारी टेलिभिजनबाट प्रसारित एउटा वक्तव्यमा पुटिनले सिरियामाथि हमला हस्तक्षेपकारी कदम भएको आरोप समेत लगाए।

उनले डुमामा गत हप्ताको शंकास्पद रासायनिक हमला नियोजित रूपमा कसैले गराएको र त्यसलाई आक्रमण गर्न बहानाका रूपमा प्रयोग गरिएको बताए। अमेरिकी नेतृत्वको हमलाले सिरियास्थित रुसी नौसैनिक र हवाई अखडा नजिकको क्षेत्रहरूलाई निशाना नबनाएको रुसको रक्षा मन्त्रालयले जनाएको छ।रुसी वरिष्ठ अधिकारीहरुले समेत अमेरिकाले गर्ने भनिएको जस्तोसुकै आक्रमणको डटेर सामना गर्ने बताएको छ  । उसले दमास्कस नजिक एउटा सैन्य अखडामा प्रहार गरिएका सबै १२ वटा क्रुज क्षेप्यास्त्रलाई सिरियाली तोपहरूले खसालिदिएको पनि जनाएको छ।यद्यपि उसले कुनै प्रमाण भने दिएको छैन।सिरियाली राष्ट्रपति बशर अल असदको समर्थनमा रुसी सेनाले सन् २०१५ मा हवाई आक्रमण शुरू गरेको थियो जुन असदको पक्षमा युद्ध पार्नका लागि महत्त्वपूर्ण साबित भयो ।

सिरियाको सरकारी सञ्चारमाध्यमले हवाई आक्रमण अन्तर्राष्ट्रिय कानुनको जघन्य उल्लङघन भएको बताएको छ। सिरियाका राष्ट्रिपति बशार अल असदले यो आक्रमणपछि सिरिया र सिरियाली जनताहरू आतङ्कवादलाई निमिट्यान्न पार्न पहिलाको भन्दा झन् प्रतिबद्ध भएका प्रतिक्रिया दिएका छन्। उनले पश्चिमी देशहरूले आफ्नो देशमा आतङ्कवादलाई सघाएको आरोप लगाएका छन्।
असदसँग गरिएको टेलिफोन कुराकानीमा इरानका राष्ट्रपति हसन रूहानीले सिरियालाई सहयोग दिइराख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

बेलायतकी प्रधानमन्त्री टरिजा मेले हवाई आक्रमण उचित र वैधानिक भन्दै दाबी गर्दै त्यसो गर्नुको विकल्प नभएको बताएकी छन्।मेले सिरियाको डुमामा भएको भनिएको रासायनिक आक्रमणलाई ब्रिटेनको सोल्जबरीमा रुसका पूर्वगुप्तचर सेर्गेइ स्क्रिपाल र उनकी छोरीमाथि स्नायुप्रणालीलाई असर पार्ने रसायन प्रयोग गरी भएको आक्रमणसँग जोड्दै भनिन्। तिनले (आक्रमणहरूले) रासायनिक अस्त्र (प्रयोगको) मापदण्डप्रति अनादर देखाएका छन्।

सिरियामाथि गरेको क्षेप्यास्त्र आक्रमणको चीनले विरोध गरेको छ। चिनियाँ विदेश मन्त्रालयले सिरियामाथिको आक्रमण अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन भएको बताएको छ।  शनिबारको आक्रमणपछि चिनियाँ विदेशमन्त्रालयले सुरक्षा परिषदलाई बेवास्ता गरेर गरिएको सैन्य आक्रमणको विरोध गरेको हो।

इरानका सर्वोच्च नेता अयातुल्लाह अलि खामेनीले सिरियामा पश्चिमाहरूको हमला अपराध भएको र त्यसबाट कुनै उपलब्धि हासिल नहुने बताएका छन्।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले यो खतरनाक स्थितिमा संयम अपनाउन र त्यहाँको स्थिति तथा सिरियाली जनताको पीडालाई झन् बिगार्न सक्ने अवस्था आउन नदिन आग्रह समेत गरेका छन् ।

संयुक्त राज्य अमेरिका, फ्रान्स र बेलायले पूर्वी गुटामा गत हप्ता गरिएको आरोपित रासायनिक हमलाको प्रतिक्रिया स्वरूप सिरियामा हवाई हमला शुरू गरेका छन्। दमास्कस र आसपासका क्षेत्रमा विस्फोटका ठूला आवाजहरू सुन्न सकिन्छ।र, आकाशमा धुवाँको मुस्लो देख्न सकिन्छ।

सिरियामा गत साता ७० भन्दा बढीको ज्यान जाने गरी भएको रसायनीक आक्रमणपछि दुवै मुलुक आरोप प्रत्यारोपमा उत्रिएका छन् । अमेरिकी रक्षामन्त्रालयले सिरियामा कम्तीमा तीन ठाउँबाट हमला गरिएको बताएका छन्। समाचार संस्था सानाका अनुसार क्षेप्यास्त्र हमलामा तीनजना घाइते भएका छन्।सिरियाको सरकारी टेलिभिजनले सरकारी फौजले एकदर्जन भन्दा बढी क्षेप्यास्त्रहरू खसालिदिएको जनाएको छ।सिरियाली सरकारको मुख्य साझेदार रुसले अमेरिकाका लागि आफ्ना राजदूत मार्फत् विज्ञप्ती जारी गराउँदै यस्ता कदमप्रति चुप लागेर नबस्ने प्रतिक्रिया दिएकोछ।

कस्तो छ सिरियाको अवस्था?
दमास्कसका सडकहरू अरू दिनजस्तै सामान्य देखिन्छन्।जाँचस्थलमा सुरक्षाकर्मीहरू सामान्य अवस्थामा देखिन्छन् र अरू दिनहरूको भन्दा सुरक्षा जाँचमा कडाइ गरिएको छैन।पसलहरू खुला छन् र मानिसहरू काममा गइरहेका देखिन्छन्।सिरियाली टेलिभिजन भवन रहेको दमास्कसको मुख्य चोकमा दर्जनौँ मानिसहरू भेला भएर सिरिया, सिरियाली सेना र राष्ट्रपति बशर अल असदको पक्षमा नाराबाजी गरिरहेका छन्।कतिपय प्रदर्शनकारीले असदको तस्वीर बोकेका छन्।उनीहरू भन्छन्, आफूहरू नतर्सिएको भनेर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई भन्न चाहन्छौँ र सिरियाली सेना तथा राष्ट्रपतिप्रतिको हाम्रो समर्थनमा कुनै कुराले परिवर्तन ल्याउन सक्दैन।  उनीहरूमध्ये धेरैले हमलाको अपेक्षा आफूहरूले पहिल्यै गरेको र अर्को हमला होला भन्ने नलागेको बताएका छन्।

 

 

 

10

प्रतिक्रिया
सम्बन्धित समाचार