सिरियाको डोमा शहरमा रासायनिक हमलामा कम्तीमा ७० को मृत्यु भएको सुरक्षाकर्मीलाई उद्धृत गर्दै बीबीसीले बताएको छ । यद्यपी, अमेरिकी विदेश विभागले मृत्यु हुनेको संख्या योभन्दा धेरै हुनसक्ने बताएको छ ।
पूर्वी गूटामा विद्रोहीको कब्जा रहेको डोमा अन्तिम शहर हो । सिरियाको ‘द ह्वाइट हेलमेट’ नामक स्वयंसेवी संस्थाले यस सम्बन्धि केही तस्बिर पनि पोष्ट गरेको छ ।
जसमध्ये कुनैमा शव देखिएका छन् । उक्त संस्थाले मृतकको संख्यामा वृद्धि हुनसक्ने जानकारी दिएको छ । यद्यपी, यस खबरको अहिले स्वतन्त्र रुपमा पुष्टि हुन नसकेको बीबीसीले बताएको छ ।
‘द ह्वाइट हेलमेट’ ले सुरुमा आफ्नो ट्वीटरमा एक सय ५० को मृत्यु भएको बताएको छ । तर, पछि उक्त ट्वीट हटाइएको जानकारीमा उल्लेख छ ।
यता सिरियाली सरकारले भने रासायनिक हमलाको खबर झुटो बताएको छ । अमेरिकी विदेश मन्त्रालयले भने यसबारे अनुसन्धान भइरहेको बताएको छ ।
रुस सिरियाली सरकारको तर्फबाट लडिरहेको छ र यदि घातक रासायनिक हमला भएको हो भने यसका लागि रुसलाई जिम्मेवार ठहराउनुपर्ने अमेरिकी विदेश मन्त्रालयको भनाई छ ।
अमेरिकी विदेश मन्त्रालयले भनेको छ, ‘विगतमा सरकाले आफ्ना नागरिकविरुद्ध रासायनिक हतियारको प्रयोग गरिरहेको छ जसले कुनै विवाद निम्त्याएको छैन । रुसले अन्ततः अनगिन्ती सिरियाली नागरिकमाथि रासायनिक हतियारमार्फत क्रुर हमलाको जिम्मेवारी उठाउनु पर्नेछ ।’
गूटामा विपक्ष समर्थक मिडियाका अनुसार यस रासायनिक हमलामा एक हजारभन्दा बढि व्यक्ति प्रभावित भएका छन् । एक हेलिकोप्टरमार्फत सेरेन र टक्सिक नर्व एजेन्टसहितको ब्यारल बम फ्याँकिएको मिडियाले बताएको छ ।