एक सय २७ को मृत्यु भएपछि सेल्फी विरुद्ध अभियान, सेल्फी लिन प्रतिबन्ध

एक सय २७ को मृत्यु भएपछि सेल्फी विरुद्ध अभियान, सेल्फी लिन प्रतिबन्ध


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २५ चैत्र २०७४
  • 12.5K
    Shares

सेल्फीको क्रेज बढिरहेका बेला भारत कर्नाटकको राजधानी बेंग्लोरमा सेल्फी लिन नपाइने भएको छ । एक महिनामा मात्र सेल्फी लिनेक्रममा चारजना विद्यार्थीको मृत्यु भएको भएपछि सेल्फी विरुद्ध अभियान चलाइएको छ । केही साताअघि बिदा मनाउने क्रममा मन्दिर परिसरमा पुगेका एक विद्यार्थीको सेल्फी लिने क्रममा नजिकैको तलाउमा डुबेर मृत्यु भएको थियो ।
सो घटनाको एक सातापछि अर्को बीभत्स दुर्घटना भयो । दुर्घटनाको मुख्य कारण सेल्फी थियो । सेल्फी लिने क्रममा तीनजना किशोरलाई रेलले किचिदियो । रेललाई पृष्ठभूमिमा देखाउने क्रममा विपरीत दिशाबाट आएको रेलले किच्दा बेंग्लोरमा तीनजनाको घटनास्थमै मृत्यु भएको थियो ।
यी दुई घटनाले कर्नाटक त्रसित छ । सेल्फी लिँदा किशोरकिशोरी तथा युवायुवतीले बढी सावधानी अपनाउन राज्य सरकारले आग्रह नै गरेको छ । सेल्फी बिस्तारै किल्फीमा रूपान्तरण हुन लागेको सरोकारवालाहरूले बताउन थालेका छन् ।
पर्यटकीय क्षेत्र र अन्य स्थानमा जोखिमपूर्ण पोजमा सेल्फी नलिन सरकारले युवायुवती र किशोरकिशोरीलाई आग्रह गरेको छ । यसका लागि सरकारले होर्डिङ बोर्ड, भित्ते लेखन र प्रचारलाई तीव्रता दिएको छ । ‘११ जिल्लाका पर्यटकीय क्षेत्रमा सेल्फीबारे सावधानी अपनाउन सूचना नै जारी गरेका छौँ,’ कर्नाटकका पर्यटनमन्त्री प्रियन्क एम खार्गेले भने । ‘सेल्फीविरुद्ध फेसबुक, ट्विटर, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालमा अभियान चलाएका छौँ,’ उनले थपे ।
भारतमा १ अर्बभन्दा बढी मानिसले मोबाइल फोन प्रयोग गर्छन् । तीमध्ये ३० करोडले स्मार्टफोन चलाउँछन् । किशोरकिशोरी र युवायुवतीले विभिन्न खतरा मोलेर विभिन्न पोजमा सेल्फी लिँदा दुर्घटना बढेको विज्ञहरूले बताउँदै आएका छन् । दिल्लीस्थित कार्नेजी मेलन युनिभर्सिटी र इन्द्रप्रस्था इन्स्टिच्युट अफ इन्फर्मेसनका अनुसार पछिल्ला वर्षमा भारतमा विश्वमा नै सबैभन्दा बढी सेल्फीसँग सम्बन्धित घटनामा मानिसको मृत्यु हुने गरेको छ ।
सन् २०१४ देखि २०१६ सम्म सेल्फीसँग सम्बन्धित घटनामा १ सय २७ को मृत्यु भएको थियो । तीमध्ये ७६ जना भारतीय थिए । मृत्यु हुनेमध्ये सबै युवायुवती र किशोरकिशोरी थिए । गत जुलाईमा उत्तर प्रदेश सरकारले खतरनाक पोजमा सेल्फी लिने किशोरकिशोरीलाई जेल हाल्ने चेतावनी दिएको थियो । – एजेन्सी

28

प्रतिक्रिया
सम्बन्धित समाचार