बन्दुक नियन्त्रणको माग गर्दै अमेरिकामा बृहद प्रदर्शन, वासिङटनमा मात्रै ५ लाखको प्रदर्शन

बन्दुक नियन्त्रणको माग गर्दै अमेरिकामा बृहद प्रदर्शन, वासिङटनमा मात्रै ५ लाखको प्रदर्शन


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ११ चैत्र २०७४
  • 7.9K
    Shares

एजेन्सी– अमेरिकामा बन्दुक राख्न पाउने अधिकारलाई नियन्त्रण गर्न माग गर्दै अमेरिकी विद्यार्थीहरुको अगुवाईमा बृहद प्रदर्शन भैरहेको छ । ‘मार्च फर आवर लाईब्स’ नाम दिइएको प्रदर्शन पछिल्लो महिना फ्लोरिडाको एउटा उच्च माध्यमिक विद्यालयमा भएको गोलीबारीको घटनापछि आयोजना गर्ने भनिएको थियो ।

फ्लोरिडाको उक्त उच्च माध्यमिक विद्यालयमा हमला हुँदा १७ जना विद्यार्थीले ज्यान गुमाएका थिए । अमेरिकाका विभिन्न ८ सय भन्दा धेरै शहरहरुमा सो प्रदर्शन भैरहेका छन् । वासिङटन शहरमा मात्रै झण्डै ५ लाख मानिसहरुले प्रदर्शनमा सहभागिता जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

अमेरिकामा विद्यार्थीहरुको अगुवाईमा भैरहेको प्रदर्शनको पक्षमा लण्डन, एडिनबारा, जेनेवा, सिडनी र टोकियोमा पनि प्रदर्शन भैरहेका छन् । प्रदर्शनकारीका अनुसार यस्ता खाले प्रदर्शनले अमेरिकी राजनेताहरुमा बन्दुक नियन्त्रण किन आवश्यक छ र त्यसबारे कानून बनाउन किन आवश्यक छ भन्ने कुराको दबाब पर्ने जनाएका छन् ।

प्रदर्शनकारीहरुले स्वचालित हतियार तथा त्यसको प्रयोगका लागि बनाइएको खुकुलो नीति परिवर्तन गरि त्यसलाई कडा बनाईनु पर्ने तथा ‘एसल्ट’ हतियारहरुमा प्रतिबन्ध लगाईनु पर्ने माग गरेका छन् । अमेरिकी संविधानको दोस्रो संसोधन अनुसार हतियार खरिद गर्ने अधिकार सुनिश्चित गरिएको छ ।

 

हतियार निर्माताहरुको पक्षमा काम गर्ने संस्था नेशनल राईफल एशोसियसन (एनआरए)ले भने अमेरिकामा हतिायार राख्न पाउनु पर्ने पक्षमा वकालत गर्दै ‘हतियार मानिसहरुको सुरक्षा अंग’ भएको जिकिर गर्दै त्यसको विक्री वितरण रोक्न नमिल्ने बताउँदै आएको छ । उक्त संस्था कतिसम्म शक्तिशाली छ भने उसले कानून निर्माताहरुलाई समेत आफ्नो प्रभावमा पार्ने गर्छ ।

अमेरिकामा यो प्रदर्शन त्यति बेला हुँदैछ जति बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सप्ताहन्तको विदामा निस्किएका छन् । शनिबार साँझ ह्वाईट हाउसले जारी गरेको एउटा सन्देशमा ‘पहिलो संशोसन मार्फत पाइएका अधिकारहरुको प्रयोग गरि रहेका कयौँ साहसी युवा अमेरिकी’हरुको प्रशंसा गरिएको थियो ।

ह्वाईट हाउसको संदेशमा बन्दुकहरुबाट हुने हिंसालाई रोक्नका लागि सरकारी प्रयासहरुको बारेमा पनि भनिएको थियो । यसै क्रममा सामान्य हथियारहरुलाई ‘एसल्ट’ हतियारमा बदल्ने ‘बम्प स्टक’मा भने ह्वाईट हाउसले प्रतिवन्ध लगाएको थियो ।

 

वासिङटनको प्रदर्शनमा आरियाना ग्राण्डे, माइली साइरस, जेनिफर हड्सन र लिन–मैनुअल मिरान्डा, पल मकार्टनी जस्ता चर्चित व्यक्तिहरु शिक्षक र विद्यार्थीहरुसँग प्रदर्शनमा सहभागी भएका छन् ।

यो प्रदर्शन फ्लोरिडाको उच्चमाध्यमिक विद्यालयमा भएको गोलिबारीपछि आयोजना गरिएको हो । पछिल्लो बर्षमात्रै अमेरिकाको इतिहासकै सबै भन्दा ठुलो गोलिबारीमा ५८ जनाले ज्यान गुमाएका थिए ।

अमेरिकामा सन् २०१६ मा मात्र बन्दुकबाट सामुहिक र एकल गरि ११ हजार मानिसले ज्यान गुमाएको तथ्यांक छ । विश्वमा बन्दुकबाट हुने हत्याहरुमा ६४ प्रतिशत हत्या अमेरिकामा मात्रै हुने गरेको तथ्यांकहरुमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार