आफ्नै दाजुद्वारा वलात्कारपछि हत्या

आफ्नै दाजुद्वारा वलात्कारपछि हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ५ फाल्गुन २०७४
  • 6.1K
    Shares

सप्तरीको खडक नगरपालिकामा बालिका बलात्कारपछि हत्या गरेको आरोपमा उनकै दाजु १८ वर्षीय राजदेव मण्डललाई प्रहरीले पक्राउ गरेको छ । खडग नगरपालिका–९ लालपट्टीकी ११ वर्षीया पार्वतीकुमारी मण्डलको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका उनका दाजु राजदेवलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले परिवारकै सदस्यबाट भएको घटनाका आरोपितलाई जोगाउने प्रयासमा पीडित पक्ष समेत लागेपछि अनुसन्धानमा बढी समय लागेकाले ढिलोगरी घटना सार्वजनिक गर्नु परेको सुनाए ।

सिंहका अनुसार बिरामी भएर कोठामा सुतिरहेकी बालिकालाई उनकै ठूलोबुवाको छोरा मण्डलले गत माघ २५ गते साँझ मुख थुनेर बलात्कार गरेपछि रुन थालेकी बालिकाको आवाज अन्य मानिसले थाहा नपाउँन भनेर पीडितकै कुर्ताको तुनाले घाँटीमा कसेर हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।

प्रहरी उपरीक्षक सिंहले भने, ‘पाँच दिन अगाडि आरोपित पक्राउ परेपनि थप सबुद प्रमाण संकलन भएपछि आरोपितले समेत अपराध स्वीकार गरेकाले पत्रकार सम्मेलन गरेर घटना सार्वजनिक गरिएको हो ।’

आफ्नै कालगतिले मृत्यु भएकी भनिएकी बालिकाको शवलाई गत माघ २६ गते पोष्टमार्टम गर्न लहान पु¥याइएकोमा परीक्षणका क्रममा चिकित्सकले बालिका बलात्कृत भएको संकेत गरेपछि प्रहरीले सुक्ष्म ढंगले अनुसन्धान थालेको थियो ।

अनुसन्धानमा संलग्न इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक हरिविष्णु ढकालले भने, ‘घाँटीमा डोरीको डाम र चिकित्सकले हत्याका साथै बलात्कार समेत भएको आशंका गरेपछि आरोपित फरार हुन खोजिरहेकै बेला गत माघ २८ गते पक्राउ गरी सुक्ष्म ढंगले अनुसन्धान थालेका हौं ।’ घटना मिलोमतो गराउने दबाब आउन सक्ने विगतको अनुभवका आधारमा घटनालाई गोप्य राखी सबुदप्रमाण जुटाएपछि मात्र सार्वजनिक गरिएको उनको भनाइ छ ।

लहानमा शवको पोस्टमार्टम हुन नसकेपछि पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार