आफ्नै बारीमा घास काट्दै गरेकी ६० बर्षिय बृद्धाको सुन चोरी गरी फरार भएका अभियुक्तले ती बृद्धालाई करणी समेत गरेको खुलासा भएको छ । हाल वडा प्रहरी कार्यालय वालिंग स्यांग्जाको हिरासतमा रहेका पर्वत जिल्लाको त्रिवेणी गाविस वडा नं. ७ का ३५ बर्षिय झकबहादुर रानाले साँझपख बारीमा घाँस काट्न गएकी ती बृद्धाले लगाएको गरगहना लुटपाट गरी जवरजस्ती करणी समेत गरेको बताएपछि यस्तो खुलासा भएको हो ।
अभियुक्त रानालाई वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले पर्वतबाट पक्राउ गरेको थियो । अभियुक्त रानालाई नियन्त्रणमा लिएर अनुसन्धानका क्रममा सोधपुछ गर्दा अभियुक्त रानाले बृद्धालाई करणी समेत गरेको स्विकार गरेको वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरिक्षक उत्तमप्रकाश वरालले जानकारी दिए ।
कमजोर शरिर भएकी ६० वर्षकी एक बृद्धालाई जबर्जस्ती करणीका कारण उनको स्वास्थ्य अवस्था समेत नाजुक रहेको प्रहरीले जनाएको छ । प्रहरीले चोरीमुद्धामा पक्राउ गरेको र अनुसन्धानका क्रममा बृद्धालाई करणी समेत गरेको खुल्न आएपछि प्रहरीले पिडित बृद्धाको गाविस र जिल्ला समेत गोप्य राखेको छ । अभियुक्त रानालाई जिल्ला अदालत स्याङ्जामा जबर्जस्ती करणी तथा चोरी मुद्धामा म्याद थप गरी आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
वालिका देखि अर्धबैसे विचमा जवरजस्ती बलात्कारका घट्ना बाहिर आएपनि बृद्धाको घट्ना भने स्याङ्जामा पहिलो भएको प्रहरीले जनाएको छ । कानुनमा ७० बर्षिय देखि माथिकालाई मात्रै बृद्धबृद्धा मान्ने गरिएको र २० बर्ष देखि ६० बर्ष सम्मको महिलालाई करणी भएमा एउटै सजाय हुने कानुनी व्यवस्था रहेको प्रहरीले जनाएको छ ।