भारतको उत्तर प्रदेशमा आफ्नै आँगनमा हजुरबुवासँग खेलिरहेको आठ वर्षीय बालक अकस्मात प्रहरीको गोलीले मारिएको समाचारले सबैलाई आश्चर्यमा पारेको छ । यो घटना बुधबार दिउँसोको हो । आफ्नो हजुरबुवासँग खेलिरहेको उक्त बालकलाई अकस्मात गोली लागेको बताइएको छ ।
उत्तर प्रदेशको मथुरा गाँउमा प्रहरी गएको भए पनि प्रहरी घटनास्थलबाट निकै टाढा रहेको रहेको तर गोली कसरी त्यहाँसम्म आइपुग्यो भन्ने बारेमा भने सबैलाई आश्चर्य लागेको छ ।
‘बच्चालाई गोली लागेको छ, उसलाई अस्पताल पनि नपुर्याउँदै निधन भएको छ, प्रहरी गाँउमा गस्तीमा गएको भए पनि घटना भएको समयमा प्रहरी निकै पर रहेकोले प्रहरीकै गोली लागेको भन्न निकै गाह्रो भएको छ’, प्रत्यक्षदर्शीले जनाएका छन् ।
मथुरा जिल्लाको एक गाउँका माधव भारद्वाज नामका ती बालकका हजुरबुवाले प्रहरीले नै गोली प्रहरी गरेको ठोकुवा गर्नुभएको छ ।
घटनाका बारेमा प्रहरीले पनि अनुसन्धान गरिरहेको जनाएको छ । उसले गाँउलेहरुसँग यस विषयमा बुझिरहेको जनाएको छ ।
गाउँलेले गोली हान्ने प्रहरीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताएका छन । उनीहरुले गाउँमा रहेको प्रहरी चौकी घेराउ गर्ने पनि चेतावनी दिएका छन् । प्रहरीले आपराधिक गिरोहको इन्काउन्टर गर्न हानेको गोली बालकलाई लागेको स्थानीयले आरेप लगाएका छन् ।
उत्तर प्रदेशको सरकार योगी आदित्यनाथले सम्हाले यता विभिन्न ९ सय इन्काउन्टरमा ३२ जना मारिएका छन् । मुख्यमन्त्री योगी र उच्च प्रहरी अधिकारीले अपराधप्रति कडा व्यवहार देखाउने जनाउँदै आएका छन् । उनीहरुले यसअघिको अखिलेशकुमार यादवको सरकारले अपराधीप्रति नरम व्यवहार देखाएको आरोप लगाउँदै आएका छन् । –रासस