नेपालमा नेकपा एमाले र माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले सत्तारोहण गर्ने तयारी गरिरहेको बेला नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले यस वाम गठबन्धनलाई सामाजिक दलाल पुँजीवादी गठबन्धनको संज्ञा दिंदै यस गठबन्धनले जनघात, राष्ट्रघात र जनदमन बढाउने ठहर गरेको छ । राजधानी बाहिर मंगलबार सम्पन्न नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठकले यस्तो ठहर गरेको हो ।
कम्युनिस्ट र वामपन्थीको नाममा त्यस सामाजिक दलाल पुँजीवादी कथित त्यस गठबन्धनले वाम गठबन्धनका नाममा जनचेतना, पहलकदमी तथा सचेतनपक्षलाई कमजोर बनाउने काम गरेको निष्कर्ष निकाल्दै नेकपाको केन्द्रीय समिति बैठकले यस्तै नेपाली जनतालाई कमजोर बनाएर भयानक राष्ट्रघात र जनदमन गर्ने सम्भावना भएकाले जनतालाई ब्युँझाउन माघ १५ गतेबाट तीन महिना लामो मेची–महाकाली अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
राजधानी बाहिर बसेको बैठकले प्रचण्ड– बाबुरामको नेतृत्वमा विचलित पार्न खोजिएको माओवादी आन्दोलनलाई वैचारिक रूपले सुढृढ गर्न अभियान संचालन गरिने लागिएको एक नेताले बताए । त्यसैगरी अभियानको क्रममा क्रान्तिकारी तथा देशभक्त जनसमुदायका बीचमा ध्रुवीकरणलाई पनि जोड्नेछ ।
स्थानीय निकायले लोकतन्त्र, लोककल्याण र राहतबिनाको थेग्नै नसक्ने अकल्पनीय कर थोपरेकाले त्यसबिरुद्ध आन्दोलनको सिर्जना गर्ने नेकपाको तयारी छ । स्थानीय निकायको चुनावपछि जनताको ढाड भाँच्नेगरी करको भार थोपरेको जनगुनासो आइरहेको भन्दै नेकपाले त्यसबिरुद्ध आन्तरिक तयारी गरेर आबश्यक निर्णय गर्दै कारवाही अगाडी बढाउने बताएको छ ।
बैठकले तीन महिने भण्डाफोर अभियान चलाउने निर्णय समेत गरेको छ । यही माघ १५ गतेबाट सुरु हुने ‘देशव्यापी जनजागरण तथा भण्डाफोर अभियान’ मेचीदेखि महाकालीसम्म चल्नेछ । तीन महिने अभियानको क्रममा नेकपाले पाँच लाखभन्दा साना ऋणीको ब्याज मिनाहा गर्नुपर्ने, सुकुमबासीलाई गाँस, बास र रोजगारीको व्यवस्था नगरी थातथलोबाट उठाउन नपाउने, भष्ट्र र दलाललाई कारवाही गर्नेलगायतका कार्यक्रम रहेको बताइएको छ । अभियानमा महासचिव विप्लवलगयातको शिर्ष नेताहरु सहभागी हुने नेकपा स्रोतले जानकारी दिएको छ ।
सरकारले चुनावलगत्तै पेट्रोलियम पदार्थ, खाद्यान्न तथा अन्य उपभोग्यवस्तुको मूल्यवृद्धि गरेर जनतामा आक्रोश पैदा गराएको भन्दै नेकपाले त्यसका बिरुद्ध पनि आन्दोलन केन्द्रित हुने बताएको छ ।
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । बैठकले चुनाव खारेज अभियानको समिक्षा पनि गरेको छ । नेता–कार्यकर्ता र जनताको सहभागिताले वर्ग संघर्षलाई उचाईमा पुर्याएको भन्दै खारेज चुनाव खारेज अभियान सफल भएको बैठकले निष्कर्ष निकालेको छ ।