पाकिस्तान उत्तर कोरिया बन्ने खतरा, पाकिस्तानलाई उक्साउँदै भारतीय सेना

पाकिस्तान उत्तर कोरिया बन्ने खतरा, पाकिस्तानलाई उक्साउँदै भारतीय सेना


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २ माघ २०७४
  • 51.8K
    Shares

गोकर्ण भट्ट ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुदारवादी नीतिका कारण दक्षिण एशियामा पनि अर्को उत्तर कोरिया जन्मिने खतरा बढेर गएको छ । इजरायलको राजधानी जेरुसेलम सार्ने विषयमा संयुक्त राष्ट्र संघमा भएको मतदानमा पाकिस्तानले अमेरिकाको विपक्षमा भोट हालेपछि अमेरिका र पाकिस्तानको सम्बन्ध बिग्रिएको हो ।

र, यसलाई ‘उचालेको’ छ भारतले । ठीक त्यसरी नै, जसरी दक्षिण कोरियाले उत्तर कोरियालाई एक्ल्याउन ठूलो भूमिका खेलेको छ ।

भारत र पाकिस्तान, दक्षिण एशियाका यस्ता दुई देश हुन, जसले अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको आडमा आफ्नो शक्तिको दम्भ देखाउँदै आएका छन् ।

प्रस्तावको विपक्षमा भोट दिएपछि अमेरिकाले पाकिस्तानलाई दिँदै आएको सैन्य सहयोगमा कटौतीको घोषणा गरेको छ । यसले भारतलाई भने हाइसन्चो भएको छ । भारतका लागि अमेरिका र पाकिस्तानको सुध्रिएको सम्बन्ध कहिल्यै पाच्य हुन सकेन । पछिल्लो दिनमा भारतले चीनसँग पाकिस्तानको सम्बन्धलाई समेत आलोचनाको दृष्टिले हेर्दै आएको छ ।
\
दक्षिण एशियामा देखिएको यो अवस्थाले विश्व शक्ति केन्द्रहरुको धु्रवीकरणको स्पष्ट प्रभाव यस क्षेत्रमा पनि देखिनु स्वभाविकै हो । तर, यो धु्रवीकरणले गर्दा ‘अस्तित्व रक्षा’को ‘मूड’मा पुगेको पाकिस्तानले भारत र अमेरिकासँगको शक्ति सन्तुलनका लागि उत्तर कोरियाको बाटो लिने सम्भावना बढेर गएको छ ।

दक्षिण कोरियाले पेल्दै गएपछि उत्तर कोरियाले ‘आफ्नो सार्वभौमसत्ता रक्षाका लागि परमाणु हतियार बनाउनै पर्ने बाध्यता’ भन्दै संसारलाई नै त्रसित पार्ने गरी परमाणु क्षमतामा अभूतपूर्व विकास गरेको छ ।

 

पछिल्लो सप्ताहहरु भने पाकिस्तान र भारतका लागि झनै तनावपूर्ण बनेका छन् । राजनीतिक टिकाटिप्पणीहरु सैन्यस्तरमा पुगेका छन् । भारतीय सेनाका प्रमुखले यो साता अत्यन्तै कडा टिप्पणी गरे पाकिस्तानका बारेमा । भारतीय सेनाका प्रमुख जनरल विपिन रावतले सरकारले आदेश दिएको खण्डमा सैनिक अप्रेशन गर्न जुनसुकै बेला पनि सीमा पार गर्न बेर नलगाउने बताएपछि यसले पाकिस्तानमा तरङ्ग छाएको छ । “पाकिस्तानको परमाणु शक्तिको गफ धेरै सुनियो । तर यदि पाकिस्तानसँग साँच्चिकै लड्नु परेको अवस्थामा र, सरकारले अनुमति दियो भने उनीहरुसँग परमाणु हतियार छ भनेर हामी चुप लागेर बस्ने छैनौं ।” रावतले भने, “उनीहरुको परमाणु शक्तिको दम्भलाई हामी देखाइदिनेछौं”

भारतीय सेना प्रमुखको यो स्तरको टिप्पणीपछि पाकिस्तानी सेनाका प्रमुखले झनै कडा प्रतिक्रिया दिएका छन् । पाकिस्तानी पत्रिका डनले उल्लेख गरे अनुसार, पाकिस्तानी सेनाको मिडिया विभाग प्रमुख मेजर जनरल आसिफ घाफूरले पाकिस्तानको प्रतिरक्षा क्षमतामाथि कुनै सन्देह नगर्न चेतावनी दिए । यसैगरी विदेश विभागले समेत भारतलाई कुनै दुस्साहस नगर्न चेतावनी दिएको छ ।

पाकिस्तानी टेलिभिजनमा कुरा गर्दै अन्तरसेवा जनसम्पर्क विभागका मेजर जनरल घाफूरले सेना प्रमुखजस्तो व्यक्तिको टिप्पणी गैर जिम्मेवार र भद्दा भएको टिप्पणी गरे । पाकिस्तानी सेनाको विदेश विभाग प्रमुख डा. मोहम्मद पैmजलले समेत भारतीय सेना प्रमुखको टिप्पणीलाई घटिया मानसिकता भएको विचार भन्दै कडा आलोचना गरेका छन् ।

परमाणु हतियारको विकासमा भारत र पाकिस्तानले यसअघि पनि प्रतिष्पर्धा गर्दै आएका छन् । यद्यपी भारतले भने बेलाबखत पाकिस्तानले गफ मात्रै दिएको भन्दै आएको छ । उता पाकिस्तानले भने आफूलाई कुनै पनि अर्थमा कमजोर नठान्न चेतावनी दिँदै आएको छ ।

अमेरिकाले सैन्य सहयोग रोक्ने निर्णय गरेपछि पनि पाकिस्तानले कडा प्रतिक्रिया जनाउँदै पाकिस्तानलाई एक्लो नठान्न चेतावनी दिएको थियो । पाकिस्तानले विश्व शक्तिकेन्द्रका अन्य गठबन्धनसँग जोडिन सक्ने भन्दै पाकिस्तानले अमेरिका धोकेबाज भएको समेत बताएको थियो ।

अरब देशहरुसँग अमेरिकाको चिसिँदै गएको सम्बन्ध, इरानमा सत्ता उल्ट्याउने अमेरिकी प्रयास, कोरियाली महाद्विपमा अमेरिकाविरुद्ध स्पष्ट शक्तिको उदय जस्ता घटनाले गर्दा पाकिस्तान पनि अमेरिका बिरोधी शक्तिहरुमा मिसिने खतरा यसले जन्माएको छ । यसको सबैभन्दा ठूलो असर अमेरिकालाई पर्ने छ । किनभने भोलीका दिनमा अमेरिका र छिमेकी भारतले यही प्रकृतिले धम्क्याउने अवस्थामा पाकिस्तानले साँच्चिकै उत्तर कोरियाजस्तो परमाणु हतियारको विकासलाई मुख्य प्रतिरक्षा रणनीतिका रुपमा विकास गर्न सक्छ ।

विश्व राजनीतिमा अमेरिकापछि सशक्त भूमिका निर्वाह गरेको चीन भने पाकिस्तान र उत्तर कोरियाको मित्रशक्ति हो । यसले गर्दा पाकिस्तानले परमाणु हतियार विकास गर्ने या उसको अमेरिकी गठबन्धनसँगको सम्बन्ध टुटदा विश्वमा चीन र अमेरिका दुई धु्रवमा देखिने खतरा झनै बढेर गएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार